झापामा कोरोना नियन्त्रणमा आइसकेको छैन
भद्रपुर । झापामा कोरोना संक्रमण घटिरहेको महसुस गर्न थाले पनि, कोरोना संक्रमण पोजेटिभ र मृत्यु हुन रोकिएको छैन । तर स्कूल–कलेज, सार्वजनिक यातायात, उद्योग, कल–कारखाना, हाट–बजार सरकारी कार्यालय सवै संचालनमा रहेकाले मानिसमा हिजकोजस्तो त्रास भने छैन । मास्क लगाउने र सामाजिक दूरीको प्रथा हराउन थालेको छ । आम नागरिक निर्धक्क भएर दशैको जोहोमा लागेका पाईन्छ । यद्यपि झापा कोरोना जोखिम मुक्त भने भएको छैन । कोरोना संक्रमण न्यूनीकरण भएको देखिएपनि नियन्त्रणमा आइसकेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार, असोज महिनाको १८ दिनभित्र कोरोना संक्रमणबाट झापामा २७ जनाको मृत्यु भएको छ । यो सँगै झापामा कोरोना संक्रमणबाट(दोश्रो लहरमा) मृत्यु हुनेको सँख्या ६१८ पुगेको छ । झापामा अझै ९१४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । असोज १८ गते बिर्तामोडका १७ सहित ८८ जनालाई संक्रमण पुष्टि भएको छ । योसहित झापामा कोरोना संक्रमितको सँख्या ३१ हजार १६८ पुगेको छ भने, २३ हजार ६१७ जना डिस्चार्ज भएका छन् ।