काँग्रेस भद्रपुर सभापतिका लागि प्रसाईको उम्मेद्वारी घोषणा
भद्रपुर । नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर भद्रपुर नगर काँग्रेसको नेतृत्वका लागि युवा नेता भरत प्रसाइले उम्मेद्वारी घोषणा गरेका छन् ।
आसन्न नगर समितिको निर्वाचनमा उम्मेद्वार भएको घोषणा गर्दै प्रसाईले युवा पुस्ता नेतृत्व लिन सक्षम रहेको दावी समेत गरेका छन् ।
भद्रपुर ७ का स्थायी बासिन्दा रहेका प्रसाई नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गर्दै पार्टीमा २८ बर्षदेखि सकृय रहेको बताउँछन् । लोकतन्त्र प्राप्तिको आन्दोलनमा पटक पटक प्रहरी हिरासतमा परि थुप्रै पटक प्रहरीको निर्मम् कुटाई खाएका प्रसाई नेपाली काँग्रेस प्रशिक्षण प्रतिष्ठान झापा जिल्लाका सचिवको भूमिका समेत निर्वाह गरिरहेका छन् । नेपाल जेसीजका पूर्व राष्ट्रिय महासचिवको नेतृत्व गरिसकेका प्रसाई प्राध्यापन र वकालत पेसामा समेत सम्लग्न रहेका छन् ।
भद्रपुर काँग्रेसको नेतृतवका लागि उपसभापति ज्ञानबहादुर चौहान, सचिव राम कँडेल, महिला नेतृ सर्मिला अधिकारी, भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, साविक पृथ्वीनगर गाउँ सभापति मनकुमार कोइराला र साविक महेशपुर गाउँ सभापति मदनबहादुर बस्नेतले समेत आँकाक्षीका रूपमा दावी गर्दै आएका छन् ।