दुर्घटनामा दुई जनाको मृत्यु
भद्रपुर । झापामा पिकअप गाडीको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका-३ ईश्वरपुर घर भई हाल झापा कमल गाउँपालिका-५ बस्ने लोहरा कापरीको ४ वर्षीय छोरा मानव कापरीको रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल( ५ स्थित निर्माणाधीन आदिवासी रङशाला अगाडी पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ०३-००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा बालक कापरीलाई शुक्रबार ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले बताए । यता घटना पश्चात् इलाका प्रहरी कार्यालय दमकको टोलीले गाडी र गाडी चालक मकवानपुर हेटौडा नगरपालिका-११ बस्ने २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
यसैगरी, पोखरीमा डुबेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा ठेगाना नखुलेका मागी खाई हिँड्ने अन्दाजी ५५ वर्षीय बम बहादुर कार्की नामले चिनिने व्यक्ति रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार मेचीनगर नगरपालिका-१२ स्थित धिमाल बस्तीमा रहेको पात्र धिमालको पोखरीमा पौडी खेल्न पसेका कार्की ननिस्किएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी चौकी चारआली र इलाका प्रहरी कार्यालय धुलाबारी टोली घटनास्थल पुगेका थिए । प्रहरीले पोखरीको पानी बाहिर फालेर खोजतलास गर्दा पोखरीको बिच भागमा उनी मृत अवस्थामा भेटाएका थिए । शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।