झापा गाउँपालिका– ५ पन्थपाडाका १२ घर डुबानमा
भद्रपुर । लगातारको वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीबहाव बढेपछि कतै डुबान, त कतै कटानले दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाले झापा गाउँपालिका– ५ स्थित पन्थपाडाका १२ घर डुबानमा परेका छन् । घर–आँगनमा वर्षाको पानी २ फिटसम्म जमेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । डुबानमा परेका परिवारलाई नजिकै रहेको महेन्द्र माविमा राखिएको छ । घर आँगनमा जमेको पानी निकासका लागि प्रहरी चौकी शरणामतीको टोलीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए । त्यस्तै माई खोलामाआएको बाढीले गौरीगंज गाउँपालिका– १ स्थित रंगियाथानमा तटीय क्षेत्र तीव्र रुपमा कटान भइरहेको छ ।‘खोलाले तटीय क्षेत्रको ३५।४० मिटर बाँध कटान गर्दै खेतबारीसम्म पानी आइपुग्न लागेको छ,’ डिएसपी थापाले भने, ‘निरन्तर पानी परेमा नदीमा आएको बाढीले धान खेती डुबान गर्दै माहाभारा तथा कुन्जीवारि क्षेत्रका ८० देखि ९० घर डुबानमा पर्ने सम्भावना देखिएको छ ।’
अविरल वर्षाले खोला तथा नदीहरूमा पानी बढिरहेकोले जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३१ वटा वडाको अवस्था बुझ्न स्वयमसेवक परिचालन गरिसकेको विपत् व्यवस्थापन समितिका सदस्य लोकराज ढकालले जानकारी दिए । जिल्लाका मेची, निन्दा, माई, कनकाई, मावा, देउनिया, हडिया, अदुवालगायतको खोलामा पानी वहाव बढेको जनाइएको छ ।