कोरोनाविरुद्धको खोप माग्दै झापाका उद्योगी

भद्रपुर । कोरोनाविरुद्धको खोप माग्दै झापाका उद्योगी व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापन पत्र बुझाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा गएका उद्योगी व्यवसायीहरूले चाँडो भन्दा चाँडो खोप उपलब्ध गराइदिनु पर्यो भन्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझाउन गएको टोलीमा जिल्लाका शाखा कार्यालयहरूका पदाधिकारी तथा उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्माले जानकारी दिए । यता ज्ञापन पत्र बुझ्दै प्रजिअ तिमिल्सिनाले जिल्लाका उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउने विषयमा तत्काल केन्द्रमा पहल गरिने बताए ।