मेचीनगर नगरपालिका एक सातासम्म सिल

भद्रपुर । झापाको मेचीनगर नगरपालिकाले साउन १३ गते बुधबार राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिकाको बैठकले एक सातासम्म नगर सिल गर्ने निर्णय गरेको हो । सिल अवधिभर अस्पताल, स्वास्थ्य चौकी, औषधि पसल भने बन्द हुने छैनन् । दुग्धजन्य पदार्थ, तरकारी, माछामासु पसल विहान ६ बजेदेखि ८ बजे दुई घण्टा खुल्ला रहने मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम ओझाले बजार दैनिकलाई जानकारी दिए । पेट्रोलियम पदार्थ, वरुणयन्त्र, एम्बुलेन्स, शव वाहन, फोहोरमैला व्यवस्थापन, पशुपंक्षीलाई आवश्यक पर्ने आहारा, इन्टरनेट, सञ्चार बाहेकका सवारीसाधन पूर्ण रुपमा रोक लगाइएको छ ।

व्यापार–व्यावसाय, उद्योग कलकारखाना, बैंक, सम्पूर्ण वित्तीय संस्था पूर्णरुपले बन्द हुनेछन् । हाइवे बाहेकका सबै सडकमा आवतजावत बन्द गरिने छ । एक साता भर सरकारी कार्यालयका अत्यावश्यक काम बाहेकका सबै सेवा बन्द हुने छन् । त्रिभुवन विश्व विद्यालय तथा अन्य विश्व विद्यालय र शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा स्वास्थय मापदण्ड पुरा गरी तोकिएको केन्द्रबाट सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख ओझाले बताए ।