प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने प्रअलाई सच्चिन महासंघको चेतावनी

भद्रपुर । प्रेस स्वतन्त्रतालाई धावा बोल्दै कचनकवल ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक राजु बुढाथोकीले समचार लेख्ने पत्रकारसित लिखित स्पष्टीकरण मागेकाप्रति गम्भीर ध्यानाकर्षण गर्दै यस्तो हर्कत सच्याउन नेपाल पत्रकार महासंघ झापा शाखाले चेतावनी दिएको छ ।

महासंघ झापाका सचिव डिकेश लामाले विज्ञप्ति जारी गर्दै प्रधानअध्यापक बुढाथेकीको हर्कत प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप भएको ठहर सहित गल्ति सच्याउन सुझाएको हो ।

बुढाथोकीले विद्यालयमार्फत भएको अनियमितता वारे समचार लेखेको भन्दै पत्रकार पार्थ मण्डललाई २१ असारमा विद्यालयमा आएर स्पष्टीकरण बुझाउन पत्रकाटेका थिए ।

आफ्ना गल्ति कमजोरी लुकाउन प्रअ बुढाथोकीले कानुनी निकायको शैलीमा आदेश जारी गर्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी स्वतन्त्र पत्रकारितालाई चुनौति दिने प्रयास गरेपछि महासंघ प्रतिवादमा उत्रेको हो ।

महासंघ झापाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ—नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य पार्थ मण्डललाई झापाको कचनकवल गाउँपालिका ६ बनियानी स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले थाहा खबरमा प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिन पत्राचार गरेको र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा वहाल रहेका विद्यालयको प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई स्पष्टीकरण सोध्न पत्राचार गर्नु र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु आफैंमा आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो । पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको महासंघ निन्दा र कडा भत्र्सना गर्दछ । प्रेस स्वतन्त्रता विरोधी उक्त कार्य तत्काल सच्याउन र आइन्दा यस्ता गतिविधि नदोहोर्याउन सम्वन्धित पक्षलाई सचेत गराइन्छ ।

समाचारको विषयलाई लिएर स्पष्टीकरणको नाममा पत्रकारलाई धम्क्याउने, हतोत्साहित र त्रसित बनाउने जस्ता प्रेस स्वतन्त्रताविरोधी गतिविधि गर्ने प्रधानाध्यापक राजु बुढाथोकीमाथि छानबिन गरी कानुनी कारबाही गर्न सम्वन्धित स्थानीय सरकार तथा मातहतको शिक्षा समितिलाई महासंघ आग्रह गर्दछ । साथै, पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन महासंघ स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ भनिएको छ ।

यसैगरी प्रेस संगठन झापाले पनि विज्ञप्ति जारी गर्दै प्रअ बुढाथोकीको हर्कत बिरुद्ध कडा कारवाहीको माग गरेको छ ।

सचिव उद्धव पुरी तथा संयोजक झुलन रेग्मीले हस्ताक्षर गरेको विज्ञप्तिमा स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप सहन नसक्ने भन्दै कारवाहीको माग गरिएको हो ।