वाइसिएलद्वारा पूर्व जनमुक्ति सेनाको परिवारलाई राहत प्रदान
दमक । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालको एक नम्बर प्रदेश नेतृत्वले झापा मोरङ र इलामको चुलाचुलीमा बसोबास गर्ने पूर्व जनमुक्ति सेनाको परिवारलाई खाद्यान्न राहत प्रदान गरेको छ । संगठनका प्रदेश कमिटी संयोजक कर्म पूलामीको नेतृत्वमा पार्टी तथा संगठनका नेता कार्यकर्ता तथा शुभेच्छुक व्यवसायीहरुबाट संकलन गरिएको कूल १५० बोरा चामल र ६ बोरा चिउरा आज वितरण गरिएको हो । संगठनले झापाको कमल गापामा बसोबास गर्दै आएका पूर्व जनमुक्ति सेना नेपालका घाईते, अपाङ तथा सहिद परिवारका लागि पूर्व जनमुक्ती सेना नेपालको संगठन मार्फत ४० बोरा चामल वितरण गरेको छ ।
सो खाद्यान्न राहत कमल ३ गुरुङ टोलमा पूर्व जनमुक्ति सेना नेपालको संगठनका सचिव सागर शेर्पालाई हस्तान्तरण गर्दै वाइसिएलका प्रदेश संयोजक पुलामीले कोरोना महामारी र जारी निषेधाज्ञाका कारण समस्यामा परेका सहयोद्धाको परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्धेश्यले पार्टी र संगठनको केन्द्रिय नीति अनुसार सो राहत प्रदान गरिएको जानकारी गराए ।
यसैबीच दमक ७ मा स्थानीय सरकारद्धारा घर टहरा भत्काइएपछि समस्यामा परेका ७ परिवारलाई वाइसिएलले चामल प्रदान गरेको छ । संगठनको १ नम्बर प्रदेश कमिटीले प्रति परिवार एक–एक बोरा चामल राहत स्वरुप प्रदान गरेको हो । वाइसिएलका प्रदेश संयोजक कर्म पूलामीले सो सहायता सामग्री पीडित परिवारलाई घर भत्काइएको स्थलमै पुगेर हस्तान्तरण गरेका थिए ।