नेपाली कांग्रेस झापाको आयोजनामा भर्चुअल बैठक

विर्तामोड । नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न भर्चुअल बैठकमा कोभिड महामारी नियन्त्रणको पूर्वतयारी, संविधानको रक्षाका सवालमा कामै गर्न नसकेको सरकार ‘इतिहासकै लाछी’ भएको उल्लेख गरेका छन् ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले बेलैमा सरकारी अस्पतालको स्तरउन्नति, खोप खरिद, अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान लगायतका पूर्वतयारी गरेको भए यतिधेरै जनताको ज्यान कोभिडका कारण नजाने उल्लेख गर्दै सरकारको अकर्मण्यताका कारण धेरैले ज्यान गुमाउनुपरेको बताए । संविधान मिचेर सत्ता टिकाउने काममा सरकार सक्रिय रहेको उल्लेख गर्दै नेता सिटौलाले भने–‘सरकारकै कारण देशको राजनीति संकट उन्मुख छ, सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेरै छाड्ने मलाई विश्वास छ ।’

भौतिक रुपमा सडक संघर्ष गर्ने अवस्था नरहेपनि वैचारिक र नीतिगत दृष्टिकोणबाट सरकारका गलत कामको विरोध गरिरहेको बताउँदै उनले पार्टीभित्र बृहद एकता गरेर पार्टीको आन्तरिक चुनावमा स्वस्थ प्रतिष्पर्धा गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रमका विशेष अतिथि तथा युवा नेता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रविधिको प्रयोगमार्फत क्रियाशिल सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य अन्तिम चरणमा पु¥याएको बताउँदै प्रविधिमार्फत नै मनोनयन दर्ता र महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले विपदमा कांग्रेस अभियान चलाएर कोभिड, बाढी, पहिरो, नदीकटान जस्ता प्रकोपमा प्रकोप पीडितको घर–घरमा पुग्ने अभियान सञ्चालनको पूर्वतयारी योजना बनाउन आग्रह गरे । कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संवैधानिक रुपमा पार्टीको महाधिवेशन नगरी पनि नहुने र गर्दा पनि असाधारण हुने अवस्था रहेको बताउँदै यसको उचित निर्णय केन्द्रीय समितिले लिने बताए । केन्द्रीय सदस्य सरिता प्रसाईले मुलुकको संविधानको रक्षा, कोरोना भाइरसको ब्यवस्थापन र पार्टीको महाधिवेशन कांग्रेसका प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै पार्टीको बैधता समाप्त हुने हुँदा महाधिवेशन निर्धारित समयमा गर्नैपर्ने बाध्यता रहेको बताइन् ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्व र प्रवक्ता लोकराज ढकालको सहजीकरण तथा प्रविन निरौलाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कांग्रेस नेताहरु पूर्णानन्द शर्मा, रामकुमारी पौडेल, सिता पौडेल, राजेन्द्र रिजाल, दीपक तामाङ, पदम प्रसाई, सुन्दरा लुहागुन, गोमा भट्टराई, देउमान थेवे, भक्ति सिटौला, अन्तर्राष्ट्रिय झापाली समाज उपाध्यक्ष नवी न पोखरेल, गोविन्द पौडेल, क्षेत्रीय सभापतिहरु मणि उप्रेती, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण शाह, ढुण्डिराज भण्डारी लगायतले कोरोना भाइरस संक्रमणको अवस्था, राहत वितरण, पार्टीको चौधौ महाधिवेशन, सरकारका गतिविधि लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

संवैधानिक ब्यवस्थाका कारण पार्टीको महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको जनाउँदै अधिकांश बक्ताहरुले अब भने तोकिएकै समयमा महाधिवेशन गर्ने आधार तय गर्न केन्द्रीय समितिलाई आग्रह गर्दै ‘एक ब्यक्ति एक पद’को अवधारणा अनुसार पार्टी महाधिवेशन गर्न सके संगठन पनि सुदृढ बन्ने र योगदान गरेका पार्टी कार्यकर्ताले उचित स्थान पाउने धारणा राखेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन पार्टीका उपसभापति राम कट्टेलले गरेका थिए ।