प्रदेशको नामकरण यसै अधिवेशनबाट टुङ्ग्याउनुपर्छ ः मुख्यमन्त्री राई
बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरणको बारेमा अब बिलम्ब गर्न नहुने बताएका छन् । मुख्यमन्त्री राईले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याएर जानुपर्नेमा जोड दिए । उनले त्यसका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई तयारी रहन पनि आग्रह गरे । आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले यो अधिवेशनबाट प्रदेशको नामकरण सम्पन्न गरेपछि मात्र बर्षे अधिवेशन अन्त्य हुने बताए ।
‘प्रदेशको नामकरण यसै अधिवेशनबाट टुङ्ग्याउनुपर्छ’ मुख्यमन्त्री राईले भने, ‘यो नीति तथा कार्यक्रम पास भएको भोलिपल्टै बाट त्यसबारेमा छलफल आगाडि बढाउनुपर्छ । म सबै दलका माननीय ज्यूहरुलाई प्रस्ताव गर्छु, प्रदेशको न्वारान पश्चात मात्र यो वर्षे अधिवेशन अन्त्य गरौं ।’
कोराना संक्रमणका कारण नामकरणको बारेमा छलफल गर्न असुरक्षित हुने अवस्था आइपरेको खण्डमा पनि आवश्यक सतर्कता र स्वास्थ्य सुरक्षाका विधि अपनाएर नामकरणको विषयलाई टुंग्याउनुपर्नेमा उनले जोड दिए ।
सरकार गठन भएको तीन वर्ष पुरा हुँदा पनि प्रदेशको नामकरण हुन सकेको छैन । पछिल्लो समय सरकार जोगाउने र ढाल्ने खेलका कारण प्रदेशको नामको बिषयमा चर्चा समेत हुन छाडेको छ । जसका कारण प्रदेशको नामकरणको बिषय ओझेलमा पर्न थालेको हो । तत्कालिन नेकपा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि स्थायी राजधानीबारे टुङ्गो लाएको प्रदेश १ ले अझै नाम पाउन सकेको छैन् । सरकार गठन भएको तीन वर्ष पूरा भएपनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति हुन नसक्दा नामकरणको विषय अनिर्णित भएको हो ।