फुटपाथ व्यवसायीहरुलाई राख्न टहरा निर्माण
काँकरभिट्टा । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले विगतमा मुख्य राजमार्ग र बसपार्क क्षेत्रबाट विस्थापित भएका फुटपाथ व्यवसायीहरुलाई राख्न टहरा निर्माण गरिने बताएका छन् । ३÷४ वर्षदेखि विस्थापित भएका एकसय भन्दाबढी फुटपाथ व्यवसायीहरु मध्ये बाँकी रहेका करिव ४० जना व्यवसायीहरुलाई राख्ने योजना बमोजिम उक्त टहरा निर्माण गरिएको उनले बताए । बाँकी रहेका अन्य व्यवसायीहरुलाई पहिलै नै बसपार्क नजिकैको नगरपालिकाको सटरमा व्यवस्थापन गरिएको उनको भनाइ छ । ‘बसपार्क क्षेत्र नगरपालिकाको सम्पति हो’, मेयर आचार्यले भने–‘कुनै व्यक्तिको होइन । बसपार्क प्यारिभिट्टामा छ, यो त बस ट्रमिनल मात्र हो । एकछिनका लागि बस आउने र गइहाल्ने मात्र ठाउँ हो । बस पार्किङ गरेर राख्ने ठाउँ होइन ।’
विस्थापित फुटपाथ व्यवसायीहरुलाई पहिलै बस ट्रमिनलमा टहरा बनाएर राख्ने निर्णय भएको मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङले बताए । उनले करिव ४० जना जति व्यवसायीलाई उक्त टहरामा व्यवसाय गर्न दिने बताए । नेपाल बैँकको पछाडि पट्टि नयाँ सार्वजनिक शौचालय छेउमा नगरपालिकाले धमाधम टहरा निर्माण गरिरहेको छ । यता पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बसपार्क व्यवस्थापन समितिलाई जानकारी नदिई टहरा बनाएकोमा आपति जनाएका छन् । ‘टहरा नबनाउनु भनेको छैन’, अध्यक्ष श्रेष्ठले भने–‘विस्थापित फुटपाथ व्यवसायीहरुलाई टहरा बनाएर पसल सञ्चालन गर्न दिनुपर्छ । तर, उनीहरुलाई कसरी राख्ने कहाँ राख्ने लगायतका विषयमा यातायात व्यवसायीका संघ–संस्थालाई थाहा नदिई गरिनु चाहिँ गलत हो ।’