काँग्रेसको मेचीका नयाँ मेसुलाई ८ बुँदे ध्यानाकर्षण

भद्रपुर । भद्रपुर स्थित मेची अस्पतालको सेवा प्रवाहमा स्तरीयता कायम गर्न ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसले नव नियुक्त मेडिकल सुपरिटेन्डन डा. टंकप्रसाद वाराकोटीलाीई ८ बुँदे स्मरण पत्र बुझाएको छ ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल तथा भद्रपुर नगर सभापति मोहन महर्जनले सम्युक्त हस्ताक्षर गरेको पत्रमा विपन्नको प्रमुख उपचार स्थल रहेको अस्पताललाई सेवाग्राही मैत्री बनाउन स्तरीयता कायम हुनु पर्ने भन्दै स्मरण पत्र बुझाइएको हो ।

स्मरण पत्रमा अक्सिजन प्लान्ट निर्माणमा चासो दिनु पर्ने, विरामीको उपचारमा सम्वेदनशी रहनु पर्ने, पि.सि.आर. परीक्षण व्यवस्थित बनाइनु पर्ने, अस्पताल परिसरमा नियमित सरसफाई हुनु पर्ने, अस्पतालमा मुटु रोग उपचार सेवा निरन्तर अगाडिबढाइनु पर्ने, कोभिडका विरामीलाई दिँइदै आएको खानामा पौस्टिकता थप हुनु पर्ने, अस्पतालमा चलिरहेको डाइलसिस सेवा अपारदर्शी रूपमा ठेक्कामा लगाइदा सेवाग्राही मार परेकाले सच्याइनु पर्ने र अस्पताललाई मेडिकल कलेजमा स्तरीकरण गर्न थालिएको प्रयास निरन्तर अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ ।

स्मरण पत्रमा भनिएको छ —“देशको पूर्वी क्षेत्रका विपन्न लगायत यस भेगका ठूलो जनसंख्याको प्रमुख स्वास्थ्य संस्थाको रुपमा रहेको मेची प्रादेशिक अस्पतालको समग्र विकासमा विगतदेखि नै हाम्रो पार्टी नेपाली कांग्रेस निरन्तर रुपमा केन्द्रित रहँदै आएको तथ्य स्मरण गराउँदै गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि निम्न विषयहरुमा पार्टीको तर्फबाट गम्भीरतापूर्वक तपाईंको ध्यानाकर्षण गर्दछौं ।”

१) नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ज्यूले नेपाल चिकित्सक संघ समक्ष पहल गर्नुभएकोमा त्यसको परिणाम स्वरुप सो संघले मेची प्रादेशिक अस्पताललाई निःशुल्क रुपमा अक्सिजन प्लान्ट सहयोग गर्ने निश्चित गरेको छ । यसका लागि नेपाल चिकित्सक संघ र आदरणीय नेता कृष्ण प्रसाद सिटौला ज्यूप्रति पार्टीको तर्फबाट कृतज्ञ हुँदै अस्पतालमा उक्त अक्सिजन प्लान्ट तुरुन्त जडान गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउँदछौं ।

२) अस्पतालमा हुँदै आएको पी.सी.आर. परीक्षण अत्यन्त अव्यवस्थित रही परीक्षणको दौरानमा नै संक्रमण सर्ने जोखिम उच्च रहेको तथ्यलाई गम्भीरतापूर्वक हृदयंगम गर्दै पी.सी.आर. परीक्षणलाई जोखिम रहित बनाउने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्दछौं ।

३) कोभिड तथा नन कोभिड बिरामीहरुलाई प्रदान गरिने खाना, खाजा लगायतको पौष्टिक आहारको स्तर वृद्धिका निम्ति आवश्यक बजेटको व्यवस्थापनका लागि अनुरोध गर्दछौं ।

४) कोभिड भवन लगायत समग्र अस्पताल एवं अस्पताल हातामा नियमित रुपमा सरसफाईको प्रवन्ध गर्न अनुरोध गर्दछौं ।

५) अस्पतालमा गुणस्तरिय एम.आर.आई., सि.टी.स्क्यान जस्ता स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न तथा भेन्टिलेटर एवं आई.सि.यु. सेवाको विस्तारको सुनिश्चितताको निम्ती अग्रसर हुन अनुरोध गर्दछौं ।

६) अस्पतालमा मुटु रोगको स्तरीय उपचारको प्रवन्ध गर्न अनुरोध गर्दछौं ।

७) विना प्रतिष्पर्धा अपारदर्शी रुपमा अस्पतालको डाइलासिस सेवा ठेक्का दिएकोमा उक्त सेवाको ठेक्का पारदर्शी र विधिसम्मत रुपमा दिने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउँदछौं ।

८) यस अघिकै सरकारले मेची प्रादेशक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति गर्ने सम्बन्धमा प्रकृया शुरु गरेकोमा हाल उक्त प्रकृया अवरुद्ध भएको छ । यस अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नती गर्ने दिशामा अस्पताल प्रमुखको हैसियतमा तपाईंको तहबाट आवश्यक कृयाशीलता देखाउन अनुरोध गर्दछौं ।

अन्त्यमा देशको पूर्वी क्षेत्रको प्रमुख सरकारी उपचार केन्द्रको रुपमा रहेको यस अस्पतालको समग्र स्तर वृद्धि तथा कुशल व्यवस्थापनका निम्ती तपाईंको इमानदार कृयाशीलताको अपेक्षा सहित अस्पतालको समग्र विकासमा हाम्रो पार्टी नेपाली कांग्रेसको तर्फबाट अधिकतम भूमिका निर्वाह हुने धारणा व्यक्त गर्दछौं भनिएको छ ।