लाइफलाइनमा अध्ययनरत छात्राको रहस्यमयी मृत्यु

दमक । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक – ५ स्थित एक घरमा भाडामा बसेर अध्ययन गर्दै आएकी इलामकी सेजल कोइरालाको हिजो साँझ रहस्यमयी मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज प्रहरी नायव उपरिक्षक नवराज कार्कीका अनुसार कोइरालाको शव पोस्टमार्टमका लागि वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने छ । प्रहरीले सेजलाको मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

उनलाई बुधबार बेलुकी करीब ५ बजे साथीले मोवाइलमा सम्पर्क गरेका थिए । उनको मोवाइल नउठेपछि साथीहरु कोठामा पुग्दा उनलाई शौचालयको कमोटमा बेहोस अवस्थामा भेटेका प्रहरी नायव उपरिक्षक कार्कीले बताए । ‘उनका साथीहरुले नै ६ देखि साढे ६ बजेको समयमा उनलाई अस्पताल पुरयाएका र तत्कालै उनको लाइफलाइन अस्पतालमा नै मृत्यु भएको देखिएको छ, हामी सुक्ष्म अनुसन्धानमा छौं’ कार्कीले भने ।

उनका अभिभावकहरु राती ११ बजे दमक आइपुगेका बताइएको छ । आफन्तहरु उनको मृत्यु रहस्यमयी भएको भन्दै प्रहरीमा जाहेरी दिने तयारीमा छन । प्रहरीले, तत्काल उनको मृत्युको कारण थाहा पाउन पोस्टमार्टमलाई प्राथमिकता दिइने बताइएको छ ।