विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

भद्रपुर । भद्रपुरका विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीले नगर क्षेत्रका एक सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । भद्रपुर ४ स्थित पार्टी कार्यालयमा सोमबार बिहान आयोजित एक संक्षिप्त कार्यक्रमका बिच प्रदेश कमिटी सदस्य डिल्ली घिमिरेको नेतृत्वमा प्रति विपन्न परिवारलाई १० केजी चामल, १ केजी दाल, एक लिटर तेल, १ प्याकेट नुन वितरण गरेको कमिटीका सदस्य पुष्कर राजवंशीले जानकारी दिए ।

पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, सहयोगी एवं शुभचिन्तकहरू बाट प्राप्त भएको सहयोगबाट राहत जुटाइएको नगर अध्यक्ष शिवकुमार राजभण्डारीले जानकारी दिए । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञापछि कोरोना महामारीले प्रभावित भएका अति विपन्न परिवारका लागि सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ नाम दिएर राहत अभियान सुरु गरिएको जनाइएको छ । यस अभियानलाई निषेधाज्ञाभरि निरन्तरता दिने नगर इन्चार्ज नरेश सन्जेलले जानकारी दिए ।