नक्कली नोटसहित एक युवक पक्राउ

भद्रपुर । ब्राउन सुगर र नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् । झापाको दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ पक्राउ परेका हुन् ।

बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राती ११ बजे ब्राउन सुगर र नेपाली नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ४७.५३ ग्राम ब्राउन सुगर र एउटै नोट नम्बरका नेपाली एक हजारका ८ वटा नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउनेसमेत प्रहरीले जानकारी दिएको छ ।