मोडल अंग्रेजी मावि अन्तराष्ट्रिय शोधकार्यका लागि छनौट

दमक । दमक ८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय ( जेम्स ) जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय शोधकार्यका लागि छनौटमा परेको छ । विश्व वातावरण वनाउन विद्यालय तहवाट नै जिम्मेवार भएर लाग्नु पर्छ भन्ने महान विचारका साथ यस परियोजना कार्य तयार गरि सो कार्य सम्पादनको लागि ब्रिटिस काउन्सिल यूकेबाट परियोजना स्विकृत भएको छ ।परियोजना सञ्चालनका लागि ५० हजार पाउण्ड रहेको छ ।

यस परियोजना कार्यको मुख्य उद्देश्य संसार भरि विभिन्न धरातलीय प्रदेशको जलवायु परिवर्तनको अवस्था मापन गर्नु रहेको छ । यो सहकार्यको लागि तराईका ३ , पहाडका ३ र हिमाली भेगका ४ गरि जम्मा १० वटा विद्यालय छनौट भएका छन् । तराईबाट छनौट भएका विद्यालयहरूमध्ये झापा मोडेल अंग्रेजी विद्यालय परियोजना सहकार्यको लागि नेपालबाट छानिएको प्रिसिन्पल सागर श्रेष्ठले बताए ।

खास गरि यूके अन्तर्गत स्कटलैण्डको त्यहाँ अवस्थित सवै भौगोलिक क्षेत्रका १० वटा विद्यालयहरू र नेपालका तराई , पहाड़ ,र हिमालय क्षेत्रका गरि १० वटा विद्यालयहरू वीच यस परियोजना कार्यमा सहकार्य हुनेछ । यो सहकार्य स्कटलैण्डको एक विद्यालयसंग नेपालको एक विद्यालयवीच हुनेछ ।

यस परियोजना कार्य सम्पन्न गर्न विद्यालयले आफ्नो विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूबाट क्लव गठन गरि उनीहरूले जलवायु परिवर्तन सम्वन्धी परियोजना कार्य सम्पन्न गर्नु पर्नेछ । परियोजना सम्पन्न गर्नको लागि विद्यालयमा मौषम मापन केन्द्र राख्ने, कर्वन अक्ससाईड मात्रा मापन ,तापमान केन्द्र राख्नु पर्ने, सापेक्षिक आद्रता मापन केन्द्र जस्ता पूर्वाधार राखेर त्यस सम्बन्धी अध्ययन अनुसन्धान गरिनु पर्ने उल्लेख छ । परियोजना कार्यमा वायु प्रदूषण र पानी प्रदुषणको अवस्था , कारण र निर्मलिकरणको उपाय समेत अनुसन्धान गरिनेछ