व्यवसायीलाई कोरोना भ्याक्सिन दिन माग

—मनिषा चम्लागाईँ ।

झापा । पूर्वका व्यवसायीले कोरोना महामारीबाट बच्नका लागि व्यवसायीलाई भ्याक्सिन दिन माग गरेका छन् । व्यवसायी र आम नागरिक प्रत्यक्ष सम्पर्कमा रहने हुँदा व्यवसायीलाई पनि खोप उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । “हाम्रो माग व्यवसायीलाई भ्याक्सिन देउ भन्ने हो” मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाले भने, “हामीले कर नलेउ भन्ने होइन, भ्याक्सिन दिएर व्यवसाय सञ्चालनको वातावरण निर्माण गर भन्ने हो ।”

झापा बिर्तामोडका औषधि व्यवसायी तथा उद्योग वाणिज्य संघ बिर्तामोडका सदस्य गौरीशंकर गुप्ता ‘टिंकु’ले औषधि व्यवसायी संघ जिल्ला समिती, प्रदेश समिती र केन्द्रिय समितीले विज्ञप्ति जारी गरी औषधि व्यवसायीलाई भ्याक्सिनको व्यवस्थाका लागि सरकारलाई आग्रह गरेको जानकारी दिए । “हामीले व्यवसायीलाई भ्याक्सिनको माग ग¥र्यो” उनले भने, “अहिलेसम्म केही नतिजा आएको छैन ।”

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले लामो समयसम्म व्यवसाय ठप्प हुँदा सरकारलाई कर बुझाउन नसक्ने स्थितिमा व्यवसायी पुगेको बताए । “बजार बन्द छ, दोकान खोल्न जाँदा बाटोमै ट्राफिकले सवारीसाधनको चाबी खोसेर जरिवाना गर्छ । अनि राज्यलाई कसरी कर तिर्न सक्छन् व्यवसायीले ?” मैनालीले प्रश्न गरे । नीजि क्षेत्रले निषेधाज्ञामा व्यवासयीक गतिविधि सञ्चालन गर्न नसकेकाले कर तिर्न नसक्ने अवस्था आएको मैनालीको भनाई छ । यस विषयमा नेपाल उद्योग वाणिज्य महासंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको माग छ । मैनालीले व्यङ्गत्मक शैलीमा भने, “निजी क्षेत्र फुटवल जस्तै भयो, जस्ले पनि हिर्काउँछ मात्र ।”

व्यवसायी मोहन निरौलाले सरकारले सिमानाका बन्द गरेर व्यवसाय सञ्चालनमा रोक लगाए पनि रातको समयमा नाका आसपासबाट दुईनम्बर धन्दा चलाएको जिकिर गरे । फर्निचर व्यवसायी सविना बजगाईँले व्यापार बन्द हुँदा कर तिर्न नै धौँ–धौँ हुने गरेको सुनाइन् । त्यस्तै अलैंची व्यवसायी महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराईले निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिनका लागि सबै क्षेत्रबाट सरकारी पक्षलाई दवाब दिनुपर्ने जनाए ।

उद्योग वाणिज्य संघ प्रदेश–१ का अध्यक्ष, टिकाराज ढकालले व्यवसायीलाई भ्याक्सिन उपलब्ध गराउने विषयमा उद्योग वाणिज्य संघ प्रदेश समिति साथै महासंघले पहल गरिरहेको जानकारी दिए । “व्यवसायीलाई भ्याक्सिन दिनुपर्छ भनेर हामीले स्वास्थ्य मन्त्रालयलाई पत्रचार गर्ने, भेटेर छलफल गर्ने गरिरहेका छौँ” अध्यक्ष ढकालले भने, “तर, राज्यले भ्याक्सिनको लिष्टमा व्यवसायीलाई अटाउन सकेन, आश्वासन दिने तर, भ्याक्सिन नदिने स्थिति रहेको छ, स्वयम् स्वास्थ्यमन्त्रीले अब आउने भ्याक्सिन व्यवसायीलाई पनि दिन्छौँ भन्नु भएको छ ।” भ्याक्सिन उपलब्ध गराउने विषयमा सबै व्यवसायीले आ–आफ्नो स्थानबाट दवाब दिनुपर्ने देखिएको छ ।