मेची अभियानद्वारा ननकोभिडको लागि टेलिमेडिसिन सेवा

मेचीनगर । झापामा ननकोभिड बिरामीहरुका लागि टेलिमेडिसिन सेवा शुरु भएको छ । अभियानले झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र भद्रपुर नगरपालिकाका ननकोभिड बिरामीहरुका लागि विशेषज्ञ चिकित्सा सुविधा सहित टेलिमेडिसिन सेवा शुरु गरेको अभियानका संयोजक बिजय डालमियाले बताएका छन् ।

मेचीनगर नगरपालिकाको सहकार्य तथा केएचडीसी नेपाल नामक गैरसरकारी संस्थाको प्राविधिक सहयागमा शुरु गरिएको टेलिमेडिसिन सेवामा मिर्गौला, मुटु, मधुमेह, उच्च रक्तचाप, डिप्रेसन लगायतका दीर्घरोग लागेकालाई टेलिमेडिसन पद्धतिमार्फत घर बसेरै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्राडा सञ्जीवकुमार शर्माबाट स्वास्थ्य परामर्श प्रदान गरिरहेको अभियानका संयोजक डालमियाले बताए ।

यो अभियान मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको वडा नं। ४,५,६ र ७ र भद्रपुर नगरपालिकाको वडा नं। ९ र १० मा सञ्चालन भइरहेको अभियानका स्वास्थ्य संयोजक दिलिप सुवेदीले बताए । सबैको ध्यान कोरोनाको बिरामीतिर मात्रै रहेको बेला कोरोना बाहेकका अन्य बिरामी र गर्भवती महिलाहरुलाई निक्कै अप्ठ्यारो परेको महशुस गरेर यो अभियान सञ्चालन गरेको सुवेदीले जनाए ।

भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरसँग कुराकानी समेत गराइने भएको हुँदा विरामीले आफ्नो स्वास्थ्य समस्या चिकित्सकसँग सुनाउन पाउँछन । अभियानलाई गाउँकेन्द्रित बनाइएको छ । सहरको अस्पतालबाट टाढा रहेका ग्रामीण वस्तीलाई यो सेवाले लक्षित गरेको छ । अभियानका स्वास्थ्यकर्मीहरु गत शनिवार एकैदिन ३० जना दीर्घरोगीको घरमा पुगेको र आवश्यक परामर्श प्रदान गरिएको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेल बताए । उनले गाउँमा किड्नी, हाइब्लडप्रेसर, डायविटिज र कार्डियो भास्कुलरका विरामी उपचारका लागि अस्प्ताल जान नसकेर धेरै समस्यामा फँसेको पाइएको जनाउँदै अभियानले त्यस्ता विरामीहरुलाई मद्दत गरिरहेको जानकारी दिए ।