महाधिवेशन रोकिन हुन्न ः सुजाता कोइराला

काठमाण्डौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कुनै पनि बहानामा पार्टीको १४ औ महाधिवेशन रोकिनु नहुने बताएकी छन् । नेपाली जनसम्पर्क समिति मलेसियाको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै कोइरालाले उक्त कुरा बताएकी हुन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर नेपाली कांग्रेसका नेता कार्यकर्ता हरुलाई धरपकड गरिरहेको समयमा पनि गिरिजा प्रसाद कोइरालाले आफु नजरबन्द रहेकै अवस्थामा पार्टीको जिल्ला अधिबेसनहरु जसरी पनि सम्पन्न गर्न निर्देशन दिएको सन्दर्भ स्मरण गर्दै कोइरालाले पार्टीको विधान अनुसार अब समयावधि थप्न सम्भव नभएकाले तोकिएको मितिमा महाधिवेशन हुनुको विकल्प नभएको बताइन् । उनले बरु अब पार्टी अधिवेशनको निर्वाचन प्रणालीमा परिमार्जन गर्न सकिने बताइन् । ‘अहिले हामीहरू जिल्ला जिल्ला बाट सबै महाधिवेशन प्रतिनिधिहरू केन्द्रमा वा तोकिएको स्थानमा भेला हुने र केन्द्रीकृत भएर भोटिङ गर्नु पर्ने व्यवस्था छ जुन आर्थिक रुपमा महँगो र जिल्ला जिल्ला बाट प्रतिनिधिहरू आउदा भौतिक कठिनाई पनि हुने गरेको ’, उनले भनिन्, ‘त्यसैले अब निर्वाचन प्रणालीलाई विकेन्द्रीकृत गरि जिल्ला जिल्ला बाट नै महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न सक्ने व्यवस्था मिलाउने हो भने अहिलेको कोभिड महामारी बाट पनि बच्न सकिन्छ र आर्थिक रुपमा पनि कम खर्चिलो हुन्छ ।’