भद्रपुरमा २८ वेडको आइसोलेशन सञ्चालनमा
सन्दर्भ समाचारदाता
भद्रपुर । झापामा दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएको बेला भद्रपुर नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सामग्रीसहित आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । भद्रपुर–१० स्थित कलवलगुरी प्रशिक्षण केन्द्रमा २८ वेडको आइसेलेशन सेन्टर सञ्चालनमा ल्याएको हो । अघिल्लो वर्ष सोही केन्द्रमा नगरपालिकाले देशकै नमूनायोग्य क्वारेन्टिन सञ्चालन गरेको थियो ।
आइसोलेशन केन्द्रको एक संक्षिप्त कार्यक्रमका बीच प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरे । आइसोलेशन केन्द्रमा ३ वटा अक्सिजन कन्सन्टेटर र दुईवटा अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
लक्षणसहितका सिकिस्त बिरामीलाई त्यहाँ नराखिने स्पष्ट पारिएको छ । कोरोना पोजेटिभ आएका तर सामान्य अवस्थाका संक्रमित, सुरक्षाका दृष्टिकोणले घरमै बस्नसक्ने अवस्था नभएका संक्रमितलाई सो आइसोलेशनमा राखिने बताइएको छ । आइसोलेशनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, खानेपानी, विद्युत्, सरसफाइ, सुरक्षा तथा स्वास्थ्यकर्मी परिचालन, आवश्यक यन्त्र उपकरण र खाद्यान्नको व्यवस्थापन गरिएको बताइएको छ ।
आइसोलेशन केन्द्रका लागि आवश्यक पर्ने थप अक्सिजनका सिलिन्डर, अक्सिजन कन्सन्टेटर, प्लस अक्सिमिटर, एम्बुलेन्स, शव वाहन, एन्टिजेन किट, भिटिएम, पीपीई सेट, मास्क, ग्लोब, सेनिटाइजर, सोडियम हाइपोक्लोराइड लगायतका सामग्री प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा माग गर्ने निर्णय समेत गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।