मेची अभियान बेसाहारा विरामीको साहारा बन्ला त ?

द्रोण अधिकारी

भद्रपुर। झापा भद्रपुर १० का ४६ वर्षीय रामलाल राजवंशी दुई वर्षयता मुटुरोगबाट पीडित छन् । सामान्य मजदुरी गरेर परिवार धान्नु पर्ने जिम्मेवारी भएका राजवंशी दुई वर्षदेखि थलिएर ओछ्यानमा परेका छन् । श्रीमतीले जनमन गरेर ल्याएको पारिश्रमिककले दुई छोरा सहित परिवार त जसोतसो चलिरहेको छ तर रकम अभावले पहिल्लो पटक २०७७ माघयता स्वास्थ्य उपचारका लागि विशेषज्ञ सेवा लिन नपाएका राजवंशीलाई अस्पतालको मुख हेर्न नपाई मरिने हो कि भन्ने चिन्ताले पिरोलिरहेको छ । उनी सम्झन्छन्—विगतमा अटो रिक्सा चलाउँदा राम्रै आम्दानी पनि थियो तर आफूसित रहेको रक्सी सेवन र चुरोट पिउने लतले कहिल्लै निको नहुने मुटुको रोग उब्जन गयो । छाती दुख्ने र स्वास फेर्न गाह्रो भएपछि अस्पताल पुगेका उनीले परीक्षणका क्रममा दुई वटा दीर्घ रोग रहेको थाहा पाए । सुगर र मुटु रोगले च्यापेको थाहा पाएका राजवंशीले रक्सी र चुरोटबाटै रोगी भएको अनुभव समेत सुनाए । अहिले ओछ्यान कै साहारामा रहे पनि उनीसित रक्सी र चुरोटको कुलत टुटेको छैन ।

मेची अभियानले उपचार सेवा लिन नसकेका राजवंशीलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर सञ्जीवकुमार शर्मासित जोडिदियो । आफ्नो रोग र समस्या बारे खुलेर बताएका राजवंशीलाई डा. शर्माले रक्सी र चुरोट नछोड्ने हो भने जति उपचार लिए पनि स्वास्थ्य सामान्य बनाउन नसकिने चेतावनी दिनु पर्यो । हुन त राजवंशीलाई दुई वर्ष अगाडि मुटुरोग विशेषज्ञ डा. राजेश नेपालले पनि यही भनेका थिए आज बल्ल महसुस भएको बताउने उनको स्वास्थ्य परीक्षका लागि सवै प्रकृया मेची अभियानले गरिदिने जिम्मा लिएपछि धुम्रपान—मध्यपान त्याग्न तयार राजवंशी असहज स्वास्थ्य अवस्था उपचारबाट सहज हुने आशमा प्रतीक्षारत छन् ।

यस्तै भद्रपुर १० केन्द्रमोड सुकुम्बासी बस्तीकी ३० वर्षीया सुनिता बेस्रा गत वर्षबाट पेट फुल्ने गरेको तथा तल्लो पेट दुख्ने गरेको समस्याले ग्रस्त भइन् । उनले स्थानीय अस्पतालमा परीक्षण गराउन जाँदा पाठेघरमा पानी जमेकोले तत्काल अप्रेसन गनु पर्ने डाक्टरको सल्लाह पाइन् । उनले अप्रेसन गर्न लाग्ने खर्च जुटाउन नसकेपछि रोग सहेर ओछ्यान रोज्नु परेको छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गनुृ पर्ने परिवारकी सुनिताको उपचार पनि मेची अभियानले गरिदिने प्रबन्ध मिलेपछि जीवनको माया मारेकी सुनितामा उर्व जवानी लिएर संघर्षको मैदानमा फर्कन सक्ने आश पलाएको छ ।

यी दुई पात्र त हाम्रो समाजका प्रतिनिधित्व गर्ने पात्र मात्र हुन् । सयौं श्रमजीवि वर्गका नेपालीहरूको अवस्था यस्तै छ । विरामी भएपछि रकम अभावमा मर्नु पर्ने बाध्यता जिवन्त छ । सहयोगी हातहरू भएनन् भने रोगसित लड्न अस्पतालको मुख नदेखि धर्तीबाट विदा हुनु पर्ने बिडम्वना छ । झापाको मेची किनाराबाट सुरू भएको मेची अभियानले साहाराविहीन रोगीको उपचारको सारथी बन्न सक्ला या नसक्ला समयले बताउला ।