संक्रमितको घरमै अक्सिमिटर पुर्याउँदै– मेची अभियान
मेचीनगर । बिपत्तीको बेला सामाजिक अभियानमा सक्रिय हुने झापा मेचीनगरका क्रियाशिल युवाहरु सम्मिलित मेची अभियानले कोरोना संक्रमितहरुको स्वास्थ्य सुरक्षाका लागि बिषेश अभियान शुरु गरेको छ । मेचीनगर भित्र संक्रमितहरुको संख्या अत्याधिक बढ्न थाले पछि मेची अभियानले ‘संक्रमितहरुको बेलैमा उपचार गरौं, संक्रमितको स्वास्थ्य सुरक्षाका लागि मेची अभियान ।’ भन्ने नाराका साथ संक्रमितको घर घरमै पुगेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक परे उपचारमा समेत सहजीकरण गर्ने योजना बनाएको अभियानका संयोजक बिजय डालमियाले बताए ।
कोरोना संक्रमितका लागि अति आवश्यक मानिएको अक्सिजनको अवस्था हेर्ने अक्सिमिटर मेची अभियानका तर्फबाट संक्रमितको घर घरमै निशुल्क पुर्याउन थालिएको संयोजक डालमियाले बताए । अक्सिमिटर सहित स्यानिटाइजर र मास्क समेत संक्रमितहरुलाई अभियानले उपलब्ध गराउन थालेको डालमियाले जानकारी दिए ।
मेचीनगर ६ काकरभिट्टाबाट शुरु भएको अभियानले मेचीनगर ८ का संक्रमितहरुलाई समेत घरमै पुगेर भेट गरेको थियो । संक्रमितहरुलाई होम आइसोलशनमा बसेका बेला स्वास्थ्यमा थप समस्या नआओस भनेर अभियानले सजिलो तरिकाले छातीको एक्स रे गराउने ब्यवस्था र अस्पताल आवत जावत गर्न सवारी साधनको समेत ब्यवस्था गरेको संयोजक डालमियाले बताए ।
पहिलो चरणमा मेचीनगरका सबै वडाका संक्रमितहरुको घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने र अक्सिमिटर र अन्य स्वास्थ्य सामग्री बितरण गर्ने योजना रहेको र त्यस पछि आवश्यकता अनुसार अभियानले अन्य सहयोग उपलब्ध गराउन समेत तयारी गरिरहेको संयोजक डालमियाले बताए ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरु समेतसमेतको सहभागितारहेको अभियानका सदस्यहरु संक्रमितको घरमा पुग्ने गरेका छन ।