कोरोना संक्रमित पत्रकारलाई आयुर्वेदिक औषधी

विर्तामोड । कोरोना संक्रमण भएका पत्रकारहरुलाई आयुर्वेदिक औषधी वितरण गरिएको छ । नेपाल प्रेस युनियन झापाको समन्वयमा आरोग्य योग तथा प्राकृतिक चिकित्सा केन्द्र तथा पद्माक्षी आयुर्वेद फार्मेसीको सहयोगमा कोरोना संक्रमीत पत्रकारहरुलाई रोग प्रतिरोधक तथा शक्ति बर्दक आयुर्वेदिक औषधी वितरण गरिएको हो ।

उपचार केन्द्रका डा. राधेश्याम पोखरेल, फार्मेसीका प्रोप्राइटर उर्मिला ढकाल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली तथा केन्द्रीय पार्षद रेजिना गौतमसहितको टोलीले संक्रमीत पत्रकारको घर–घरमा औषधी पु¥याएको हो । दैनिक योग ब्यायाम, प्राणायम तथा मनोवल उच्च राखेर घरेलु तथा आयुर्वेदिक औषधीहरुको सेवनबाट कोरोना जित्न सकिने आरोग्य योग तथा प्राकृतिक चिकित्सा केन्द्र चारपानेका डा।राधेश्याम पोखरेलले बताउनुभयो ।

संक्रमीत पत्रकारहरुलाई गुडुची क्याप्सुल, अश्वगन्धा चुर्ण, यष्टिमधु चुर्ण, खदिरादिबुटी, झण्डुबाम तथा घरायसी जरिबुटी वितरण गरिएको हो । उक्त औषधीहरुले रोग प्रतिरोधक तथा रोगसँग लड्ने क्षमता बृद्धि गर्न सहयोग पुग्ने पद्माक्षी आयुर्वेद फार्मेसीका प्रोप्राइटर उर्मिला ढकालले जानकारी दिनुभयो ।

कोरोनाको औषधी पत्ता लागिनसकेको र आयुर्वेद औषधीको सेवनले ‘साइडइफेक्ट’ समेत नहुने हुँदा विभिन्न ब्यक्ति तथा संस्थासँगको समन्वयमा आगामी दिनमा पनि औषधी वितरणलाई निरन्तरता दिइने प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीले जानकारी दिनुभयो ।

यसअघि नेपाल पत्रकार महासंघ प्रदेश नं–१ को पहल तथा झापा शाखाको समन्वयमा मेची आयुर्वेद औषधालय इलामको टोलीले संक्रमीत पत्रकारहरुको घर–घरमा आयुर्वेदिक औषधि वितरण गरेको थियो ।