झापामा जंगली हात्ती उपद्रो बढ्न थाल्यो

भद्रपुर । बन्दाबन्दीको समयमा झापामा जंगली हात्तीको उपद्रो बढ्न थालेपछि स्थानीयमा बाली जोगाउन र ज्यान बचाउन चिन्ता बढ्न थालेको छ ।

केही समय हात्ती उपद्रो कम देखिएको झापामा मकैको बाली उत्पादनको समयसितै हात्ती उपद्रो बढेपछि स्थानीयमा बाली जोगाउन र आक्रमणबाट ज्यान बचाउन चिन्ता बढेको हो ।

पछिल्लो पटक झापाको मेचीनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

गए राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट गाउँ छिरेको जंगली हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईते राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा रातीनै मृत्यु भएको जनाइएको छ ।

(माथि देखाइएको हात्तीको तस्विर सांकेतिक मात्र हाे)