गौरीगन्ज गाउँपालिकामा निर्मित ५० बेडको अस्पताल खाली
गौरीगंज । झापाको सुदूर दक्षिण पश्चिममा रहेको गौरीगन्ज गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न १५ बेडको आईसोलेसन र ८ वटा अक्सिजन सिलिण्डरसहितको अस्पताल तयारी अवस्थामा राखेको छ । ५० वेडको क्वारेन्टाइन कोरोना संक्रमित बिरामीका लागि तयारी अवस्था राखिए पनि दोस्रो लहरका कोरोना संक्रमित कोही पनि विरामी अस्पताल आएका छैनन् भने वेडहरू खाली रहेका गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ र्।
गौरीगंज गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार, कोरोनाको दोस्रो लहर पश्चात् जेठ १ गतेसम्म ६० जना सक्रिय संक्रमित रहेका छन् । सो स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरण अनुसार ६० जना संक्रमित मध्ये ५० जना होम आईसोलेसनमा छन् भने २ जना कोशी अस्पतालमा उपचार गराईरहेका छन् । त्यस मध्ये १ जनाको मुत्यु भईसकेको छ ।
कोरोनाको दोस्रो लहर देखा परेपश्चात् गाउँपालिकाद्वारा १ सय २२ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । यसमा कोरोना संक्रमित ६० जना मध्ये ७ जना संक्रमण मुक्त भईसकेका छन् ।
कोभिड अस्पताल भनेर गाउँपालिकाले १५ बेड आईसोलेसन, ८ वटा अक्सिजन सिलिण्डर र ५० बेड क्वारेन्टाइनको ब्यवस्था गरे पनि कोरोनाको विरामी घरमै उपचार गराईरहेका छन् । गौरीगंज गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रकाले नेपाल सरकारको प्रोटोकल अनुसारनै विरामी होम आइसोलेसनमा बसेको बताए । उनले होमआइसोलेसनमा बसेका विरामीहरुसंग नियमितरुपमा स्वास्थ्यकर्मीहरुसंग सम्पर्क भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुदै गरेको जानकारी गराएका छन् ।
(माथि देखाइएको तस्विर सांकेतिक मात्र हाे)