झापामा जेठ ७ गतेसम्म थप निषेधाज्ञा
भद्रपुर । झापामा कोभिड १९ (कोरोना भाइरस) संक्रमणका विरामीको संख्या उच्च गति लिइरहेको ठहर गर्दै एक हप्ताका लागि पूर्ण निषेध आज्ञा थप गरिएको छ ।
दोस्रो लहर अन्र्तगत झापा भित्र समुदाय स्तरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम नरोकिएपछि नियन्त्रणको प्रयास स्वरूप जिल्ला प्रशासन कार्यालय झापाले जेठ १ गतेबाट लागु हुने गरी ७ दिनका लागि पूर्ण निषेधाज्ञाको आदेश थप गरेको हो ।
बैशाख ३१ गते मध्यरातिसम्म जारी रहेको निषेधाज्ञा जेठ ७ गतेसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा उल्लेख छ । निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै यातायात र व्यपार व्यवसाय समेत पूर्ण बन्द गरिएको छ । कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि प्रजिअ तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश दोश्रो पटक जारी गरेको जनाएका छन् ।
विश्वभर फैलदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा झापा जिल्लामा समेत संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बांट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरी झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ । ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था पेशाकर्मी व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ’– प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ– ‘यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’