एकका लागि एक अभियाद्वारा अक्सिजन बैंक स्थापना

भद्रपुर ३० बैशाख । आम नेपाली नागरीक कोरोनाको महामारीबाट ज्यान जोगाउन चित्कार र गुहार गरिरहेको बेला, संघीय देखि स्थानीय तहसम्मका सरकार कुर्सीको लुछाचुडीमा र धन आर्जनमा ब्यस्त रहेको अवस्थामा, सामाजिक स्तरमा गठित झापाको ‘एकका लागी एक’अभियानले सराहनीय कदम चालेको छ । अक्सिजेन नपाएर ज्यान गुमाउन पर्नेहरुको चित्कार र दुखमा मल्हम लगाउने प्रयासमा जुटेको छ । यसै क्रममा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ । कोभिडको पहिलो चरणमा पीसीआर ल्याव स्थापनादेखि गरिव विपन्नलाई खाद्य सहयोग गर्ने यस अभियानले दोस्रो लहरमा अक्सिजनको आवश्यकता धेरै भएकाले अक्सिजन बैंक स्थापना गर्न लागेको हो ।

कोभिड संक्रमितको उपचारमा अक्सिजनको माग बढ्दै गएपछि एकका लागि एकले यो अभियान शुरु गर्न लागेको अभियानका संयोजक महेन्द्र कुमार गिरीले जानकारी दिए । उनले भने, ‘नेपालमा अक्सिजन उत्पादन भए पनि सिलिण्डरको अभाव धेरै छ ।’ अभियानका संयोजक गिरीका अनुसार पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद गरिने छ ।

जिल्लाका तीन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण धमाधम भइरहेको छ । सो अस्पतालहरुलाई समेत सिलिण्डरको अभाव भइरहेको बताइएको छ । अक्सिजन बैंक स्थापना गर्न चीनबाट सिलिण्डिर आयात गर्ने तयारी भएको गिरीले जानकारी दिए । चार सय सिलिन्डर आयात गर्न करिव ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सहारा नेपालको टिमले १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ ।

यो अभियानमा ‘एक व्यक्ति एक सिलिन्डर’ अभियान सुरु गरिने भएको छ । आवश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय झापाली समाज, वित्तीय संस्थाहरुले चासो देखाएको अभियानका बिनोद बस्नेतले जानकारी दिए । प्राप्त सूचना अनुसार झापा जिल्ला सहकारी संघको पहलमा एक्सरे मेसिन सञ्चालनमा ल्याइने भएको छ ।