बाँकेमा स्वास्थ्य आपतकाल घोषणा गर्न कांग्रेसको माग

नेपालगञ्ज– नेपाली कांग्रेस, बाँकेले नयाँ भेरियन्टसहित तीब्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लामा स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेको छ।

नेपाली कांग्रेस, बाँकेका पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो। बाँकेमा कोरोना महामारी नियन्त्रण बाहिर जाँदा कोरोना संक्रमित बिरामीहरुले उपचारै नपाएर ज्यान गुमाउनु परिरहेको र अस्पतालले समेत थेग्न नसकिरहेको अवस्थामा सरकारले स्वास्थ्य आपतकाल तत्काल घोषणा गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ।

बाँकेमा फैलिएको कोरोना महामारीप्रति संघीय सरकार र प्रदेश सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ। कांग्रेस बाँकेले जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अक्सिजन, औषधि र दक्ष जनशक्तिसहितको आइसोलेसन स्थापना गर्न अनुरोध गरेको छ। अस्पतालमा अहिले पनि कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार पाउन नसकेको, अस्पतालमा भर्ना हुनका लागि घण्टौँ समय कुर्नु परिरहेको र पहुँच नपुगेका बिरामीले ज्यानै गुमाउनु परेको गुनासो आइरहेकोप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिरामीहरु कोही पनि उपचार पाउनबाट बञ्चित नहुने वातावरण बनाइदिन सरकारलाई जोडदार रुपले आग्रह गरेको छ।

कोरोना महामारीको निहुँमा अस्पतालमा ननकोभिड बिरामीले समेत उपचार नपाइरहेको गुनासो आएको भन्दै कांग्रेसले सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको व्यवस्था मिलाउन अनुरोध गरेको छ।

कांग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा बसेको उक्त बैठकले कोरोना संक्रमितको निःशुल्क उपचार व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ। कोरोनाको पीसीआर जाँच प्रक्रिया सहज बनाउनु पर्ने, पीसीआर रिपोर्ट छिटो दिनुपर्ने र गाउँपालिका तथा नगरपालिका स्तरमै स्वाब संकलनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ।

अस्पतालमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मी र प्राविधिकको दिर्घकालीन व्यवस्थापन गर्न माग गर्दै रेम्डिसिभिर औषधि, स्यानिटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी भइरहेको जनगुनासोलाई सम्बोधन गर्न अनुगमनलाई तीब्रता दिन कांग्रेसले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ।

बाँकेमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकारलाई दवाव सिर्जना गर्न नेपाली कांग्रेस केन्द्रिय समितिलाई समेत बैठकले अनुरोध गरेको छ। कोरोना संक्रमितको उपचार गरिरहेका भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, आइसोलेसन सेन्टर, अक्सिजन उद्योग लगायतको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय गरेको छ। आफ्नो मातहतका सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्था तथा जनप्रतिनिधिलाई कोभिडका बिरामीको उपचार र अन्य कार्यमा सहयोग गर्न, सचेतना अभियानमा सरिक हुन, कोरोना भाइरसबाट सुरक्षित भएर बस्न कांग्रेस बाँकेले निर्देशन पनि दिएको छ।

कोभिड सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरेर बसेको उक्त बैठकमा सभापति कोइरालाका साथै जिल्ला सचिवद्वय तप्त पौडेल र कपिलदेव शर्मा लगायतको उपस्थिति रहेको थियो। – देश सञ्चार