सर्जिकल बिक्रेता पसल बन्द गरेर गायव
भद्रपुर २७ वैशाख । अनुगमन टोली आएको सुँईको पाएपछि पूर्वको ब्यापारिक केन्द्र बिर्तामोडका थोक औषधि तथा सर्जिकल बिक्रेताहरु पसल बन्द गरेर गायव भए । थोक औषधि तथा सर्जिकल बिक्रेताहरुले महंगो मूल्यमा सामग्री बिक्री गरिरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको एक टोली सोमबार बिर्तामोडको अनुगमनमा निस्कियो । तर, विडम्बना परिणाम केही हात लागेन ।
टोलीले शनिश्चरे रोडको एक खुद्रा औषधि पसलमा केरकार गर्यो । टोलीले शरीरमा अक्सिजनको मात्रा थाहा पाउन प्रयोग गरिने पल्स अक्सिमिटरको बिक्री मूल्य २८०० पायो । जसको अन्य बेला बजार मूल्य १२०० मात्र हो । थोक बिक्रेता समृद्धि सप्लायर्सबाट २५०० रुपैयाँ खरिद गरिएको बिल ती पसलेले देखाए । अब अनुगमन टोली थोक सर्जिकलतर्फ सोझियो । तर, बिर्तामोडका सबै थोक सर्जिकलले पसल बन्द गरेको पाइयो ।
अनुगमनको सुईको पाएपछि सर्जिकलहरु सटर तानेर हिँडेको अनुगमन टोलीको निष्कर्ष छ । कोरोना महामारीका बेला बढी मूल्य लिएर कमाउने दाउमा रहेका सर्जिकल पसलहरुले पल्स अक्सिमिटर मात्र होइन ग्लोभ्स, फेस सिल्ड लगायतका सामग्री पनि चर्को मूल्यमा बिक्री गरिरहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल नेतृत्वमा रहेको अनुगमन टोलीमा प्रशासकीय अधिकृत रामहरि खतिवडा, जिल्ला स्वास्थ्य कार्यालयका गोपाल बराल, प्रशासनका यदुनन्दन दाहाल, बिर्तामोड नगरपालिकाका तुलसी पोखरेल लगायत थिए ।