काँकडभिट्टाको मेची पुलमा एक भारतीयको मृत्यु
भद्रपुर २३ बैशाख । झापाको मेचीनगर ६ स्थित काँकडभिट्टाको मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल उत्तर दिनाजपुर जिल्ला रायगञ्जस्थित ठाकुरवाडा निवासी २६ वर्षीय भुवन पुजारी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले जानकारी दिए ।
मृतक पुजारी विगत २ वर्षदेखि नुवाकोट विदुर नगरपालिका ३ बुटवलको एक पलाई उद्योगमा कार्यरत रहेका थिए । उनी पहिलै देखि दिर्घरोगको बिरामी भएको र साथीसँग घर फर्किने भनेर त्यहाँबाट एम्बुलेन्स चढेर काँकडभिट्टा आइपुगेका थिए । उनले त्यहाँबाटै वडा अध्यक्षको सिफारिसमा एम्बुलेन्समा आएको डिएसपी दाहालले जानकारी दिए । ‘घर फर्किन लाग्दा मेची पुलमै लडेको र त्यहाँ नै उनको मृत्यु भएको भयो’ डिएसपी दाहालले भने, ‘उनी जन्डिस रोगबाट पनि ग्रसित थिए ।’ उनको शवलाई मेची पुलमै राखिएको र भारतीय सुरक्षाकर्मीसँग सहकार्यमा परिवारजनलाई बोलाउने काम भइरहेको उनले बताए । परिवारका सदस्य आएपछि शव पठाउने उनको भनाई छ ।