झापा गापामा सुविधा सम्पन्न आईसोलेसन सेन्टर
भद्रपुर २३ बैशाख । झापाको सुदूर दक्षिणमा अवस्थित झापा गाउँपालिकाले आफ्नै पहलमा संक्रमितको उपचारका लागि सुविधा सम्पन्न आईसोलेसन सेन्टर तयार गरेको छ । संक्रमितलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि तीनवटा एम्बूलेन्ससहित वडा नं. ६ मा अवस्थित जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आईसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । उनका अनुसार अक्सिजनको व्यवस्थापनसहितको आइसोलेसन सेन्टर तयार गरिएको हो । आवश्यकता अनुसार अक्सिजनसहितको आइसोलेसन बेड थप गरिने अध्यक्ष साहले जानकारी दिए ।
अहिलेसम्म होम आइसोलेसनमा बसेका संक्रमितको नियमित स्वास्थ्य परीक्षण गर्न गाउँपालिकाले स्वास्थ्यकर्मीको टोली घरघरमै परिचालन गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यमा अक्सिजनको मात्रामा कमी आए तुरुन्तै थप उपचार गर्न सहज होस भन्ने उद्देश्यले अक्सिजनसहितको आइसोलेसन बेडको तयारी गरिएको अध्यक्ष साहले बताए ।
झापा गाउँपालिकाका दोस्रो चरण अन्तरगत कोरोना संक्रमित २९ जनामध्ये २ जनाको मृत्यु भइसकेको झापा गाउँपालिका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिए ।