कांग्रेसले विपक्षमा मतदान गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्माओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेलगत्तै प्रधानमन्त्री ओलीले समर्थन जुटाउन दौडधूप थालेका छन् । माओवादी केन्द्रले बुधबार प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयलाई बुझाएको थियो ।

माओवादी केन्द्रले समर्थन नरहेको विधिवत जानकारी गराएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी समर्थन जुटाउन लागि परेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले माओवादीलाई समर्थन फिर्ता गरेर देखाउन चुनौती दिएका थिए । तर, माओवादी केन्द्रले ओलीले भन्दैमा समर्थन फिर्ता नलिने जनाएको थियो ।

ओलीले विश्वासको मत लिने तयारी गरेकै बेला माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको औपचारिक रुपमै जनाएको हो । माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा दर्ता गरेलगत्तै प्रधानमन्त्री बुधबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न दलबलसहित बुढानिलकण्ठ पुगेका हुन् । नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमालसहित देउवा भेट्न बुढानिलकण्ठ पुगेका ओलीले बुढानिलकण्ठमा ठाडो जवाफ पाए– त्यो हो, ‘कांग्रेसले समर्थन दिँदैन, विपक्षमा मतदान गर्छ ।’