राष्ट्रपतिद्वारा जारी अध्यादेशमा काँग्रेसको विरोध

काठमाण्डौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको काँग्रेसले कडा विरोध गरेको छ । काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध गरेको हो । बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाए । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको महतले बताए ।

यता काँग्रेस सभापति शेरबहादुर देउवाले छुट्टै विज्ञप्ति समेत निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक भएको उनको भनाइ छ । ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ’, देउवाको विज्ञप्तिमा भनिएको छ ।

जारी भएका अध्यादेशहरूमा विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको हो । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।