स्वास्थ्यकर्मीको जोखिम भत्ता आधा कटौती

चिकित्सक संघका अध्यक्ष भन्छन् सरकारले जिस्काउने काम ग‍र्यो

—विवेक राई

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीको जोखिम भत्ता आधा कटौती गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले ५० प्रतिशत जोखिम भत्ता पाउने जानकारी गराएका हुन् । । यसअघि सरकारले कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई शतप्रतिशत जोखिम भत्ताको व्यवस्था गरेको थियो । अहिले भने उक्त भत्तालाई आधा कटौती गरेको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यकर्मीको जोखिम भत्ता कटौती गर्ने सरकारको कदमले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल घट्ने बताए । ‘हुन त हिजोको शतप्रतिशत भत्ता दिन्छु भन्ने सरकारले पुरै दिएको छैन । अहिले आएर ५० प्रतिशत भत्ता दिन्छु भनेको स्वास्थ्यकर्मीको मनोबल बढाउनेभन्दा पनि स्वास्थ्यकर्मीलाई जिस्काए जस्तो भयो,’ उनले भने, ‘सरकारले बोल्ने मात्र गरेको देखियो तर काम केही गरेको देखिएन ।’

डा. कार्कीले महामारीमा स्वास्थ्यकर्मी अहोरात्र खटिए पनि सरकारले त्यसको महत्व नबुझेको भन्दै सरकार स्वास्थ्यकर्मीप्रति गैरजिम्मेवार बनेको जनाए । ‘चिकित्सकहरू दिनमा १८ घण्टासम्म काम गरिरहेका छन् । अहिले पनि कति चिकित्सक काम गर्दागर्दै थला परेर घरमा बसिरहेका छन् । तर उहाँहरूको पूनस्र्थापना कुराहरू भएका छैन ।

उनले महामारीको लडाईँमा स्वास्थ्यकर्मीको भूमिका प्रमुख रहने भन्दै सरकारले स्वास्थ्यकर्मीलाई अधिकतम प्रयोग गर्न उनीहरूको मनोबल बढाउने काम गर्नुपर्ने बताए । ‘स्वास्थ्यको महत्व सरकारले बुझेन । यो महामारीको तेस्रो, चौथो लहर पनि आउनसक्छ । तर यसरी लडाइँ जित्न सकिँदैन,’ डा. कार्कीले भने, ‘लडाइँ जित्ने हो भने स्वास्थ्यकर्मीको बारेमा पनि सोच्नुपर्छ । नत्र स्वास्थ्यकर्मी आजै थाकिसके, भोलि झन थाक्छन् ।’उनले जोखिम भत्ता पाउने कुरामा पहिलो लहरमै धेरै स्वास्थ्यकर्मीले भत्ता नपाएको बताए । तर सरकारले भने संक्रमितको उपचारमा खटिएका सबै संक्रमितले जोखिम भत्ता पाएको दाबी गरेको छ । डा. कार्की भन्छन् , ‘सरकारले बोल्ने मात्रै हो । पुरानै भत्ता पाएको छैन । नत्र मण्डलामा एउटा चिकित्सक २८ दिनसम्म भत्ता नपाएको भनेर प्ले कार्ड लिएर किन बस्छ ?’—सेतोपाटी