बायो मास बिक्रेट उद्योगमा आगलागी

झापा । झापाको मेचीनगर १५ ज्यामिरगढीस्थित हडिया उत्तरमा बायो मास बिक्रेट उद्योगमा भीषण आगलागी भएको छ । सोमबार बिहान ३ बजे लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

उद्योगभित्र ब्रिकेट उत्पादनका लागि उखुको खोस्टा, पलाई र काठका टुक्राहरू प्रयोग गर्न राखिएकोले त्यहाँबाट सल्किएको आगो छिटो फैलिँदा नियन्त्रण गर्न समस्या भएको हो । आगो नियन्त्रणका लागि झापा र मोरङ जिल्ला गरी आठ वटा दमकल आएका थिए । आगो नियन्त्रणमा दमकलका कर्मचारी, सशस्त्र, नेपाल प्रहरी, स्थानीयवासी परिचालन गरी निभाउने प्रयास भइरहेको डिएसपी थापाले जानकारी दिए । आगलागीको कारण भने खुल्न नसकेको उनको भनाई छ ।

आगलागीबाट करिब १० करोड बढीको क्षति भएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार उद्योगको दक्षिणीतर्फ ब्रिकेट उत्पादन गरिने भवनमा आगलागी भएको छ । आगलागीबाट भवनसहित मेसिनरी औजार, कच्चा पदार्थ जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न नसकेको उद्योगी पराजुलीको भनाई छ । यस विषयमा प्रहरीले अनुसन्धान गर्ने उनको भनाई छ ।

उद्योगी पराजुलीले भारतबाट आयातित कोइलामा आत्मनिर्भर नेपालका चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायो मास ब्रिकेट उद्योगको २०७५ साल फागुन १९ गतेदेखि सञ्चालनमा ल्याएको हो ।