झापामा आज १६ संक्रमित १ को मृत्यु
भद्रपुर ९ बैशाख । भारतबाट आएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ४ निवासी ३८ वर्षीय पुरुष रहेको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । ती पुरुष भारतको बैंगलोरमा काम गर्न गएका थिए । चार दिन अघि घर फर्किएका ती पुरुषमा बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएका थिए । उनको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको फोकल पर्सन भट्टराईले बताए ।
उनी घर आउँदा कुनै कोरोना संक्रमणको लक्षण देखिएको थिएन, चार दिन पछि मात्र लक्षण देखिएको हो, उनले भने । संक्रमित पुरुषको शव व्यवस्थापन भद्रपुर ४ स्थित मायालु सामुदायिक वन परिसरमा गरिने उनले बताए ।
यता जिल्ला स्वास्थ्य कार्यलय झापाले जनाए अनुसार, आज झापामा २ एन्टिजेन परीक्षणसहि ६ महिला र १० पुरुष गरी १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । जस अनुसार, मेची नगरमा ३ महिला, बिर्तामोडका १ महिला ३ पुरुष, भद्रपुरमा ३ पुरुष, कनकाइमा २ महिला १ पुरुष, अर्जुनधाराका १ पुरुष, दमकमा १ पुरुष र झापा गापाका १ पुरुष रहेका छन् ।
झापामा हाल सक्रिय संक्रमितको संख्या १०१ पुगेको छ भने मृत्यु हुनेको संख्या १३० रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।