चन्द्रगढीमा रोटरीले बनाउने भयो सार्वजनिक शौचालय

भद्रपुर, ८ बैशाख । झापा सदरमुकाम रहेको चन्द्रगढीमा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा सेवा लिन आइपुग्ने सेवाग्राही शौच गर्न नपाएर समस्या झेल्दै आइरहेकामा अब समस्या हल हुने भएको छ ।

भद्रपुर नगरपालिकाभित्र पर्ने सरकारी कार्यालय नजिक रहेको चन्द्रगढी स्थित महेन्द्र पार्कमा सार्वजनिक शौचालय बन्ने भएपछि सेवाग्राहीको शौच समस्या हल हुने भएको हो ।

रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अष्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा ट्रेडयुनियन चोक नजिकै महेन्द्र पार्क चन्द्रगढीमा निर्माण गरिन लागिएको शौचालयको नगरप्रमुख जीवनकुमार श्रेष्ठले शिलान्यास गरेका छन् ।

१५ लाख रुपैयाँको लागतमा २ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम थालिएको हो । शौचालय निर्माण सम्पन्न भएपछि जिल्लाभित्रबाट सरकारी सेवा लिन आउने आमनागरिकलाई सेवा पुग्ने विश्वास गरिएको छ ।

६ वटा वाथरुम र ४ वटा युरिनसहितको महिला तथा पुरुषको छुट्टाछुटै शौचालय निर्माण गरिने छ । क्लबले निकट भविष्यमा भद्रपुर ८ स्थित सगरमाथा चोकमा क्लक टावर निर्माण गर्ने योेजना रहेको जानकारी दिए ।

क्लबका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षता तथा सचिव ईश्वर अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागतसहित औचित्यमाथि उद्योग वाणिज्य संघ प्रदेश न १ का अध्यक्ष तथा रोटरी क्लव भद्रपुरका पूर्व अध्यक्ष टिकाराज ढकालले प्रकाश पारेका थिए ।