झापामा भव्य रूपमा सिरूवा मनाइँदै (भिडियो सहित)

भद्रपुर २ वैशाख । नयाँ वर्षको आगमनसागैं तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासीजातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाइरहेका छन् ।

तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउादै आएको यो पर्व बैशाख १ गतेदेखि ३ गतेसम्म तीन दिन मनाउने प्रचलन छ ।

जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा खेल्ने गरिन्छ । एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान–प्रदान गर्दै सामूहिक रुपमा हर्षाेल्लासका साथ यो पर्व मनाउने गरिएको इतिहाँस छ ।

चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ भने अन्य मिठा–मिठा परिकार समेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवीदेवताको पूजा गर्ने चलन छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान पनि गर्ने गरिन्छ ।

यसै पर्वको अवसर पारेर घाटोसरी महिला समिति बाह्रदशी ३ को आयोजनामा बाह्रदशी ३ मा घाटोसी आर सिरुवा कार्याक्रम २०७८ मनाइएको छ । साे कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष डम्वर कुमारी राजवंशीले गरेको कार्यक्रममा प्रमुख आतिथि बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी, विशेष अतिथि बाह्रदशी वडा नं. ३ का वडाध्यक्ष वीरेन्द्र प्रसाद राजवंशी, राजवंशी विकास समितिका केन्द्रीय सचिव रन कुमार राजवंशी रहेका थिए । सो कार्यक्रममा घाटोसरी पुजा, घाटो प्रदर्शन प्रतियोगिता, भाजाखोली गीत प्रतियोगिता, आधुनिक तथा लोक नृत्य गरी मनाएको कार्यक्रम संचालक समितिका सचिव रिना कुमारी राजवंशीले जानकारी दिए ।

भिडियो …….