राजसंस्थालाई स्थान दिएर राष्ट्रिय एकता कायम गरौंः लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले मुलुकमा राजसंस्थाको आवश्यकता औंल्याएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भने, ‘हामी कहाँ जाने भनेर हिँडेका थियौं, कहाँ पुग्यौं ? काठमाडौंबाट काँकडभिट्टा जाने भनेर हिँडेको, नारायणघाटबाट पूर्व लाग्नुपर्ने तर अहिले यात्रा बुटवल पुगेपछि मात्र बाटो त उल्टो भयो भनेर सबैले महसुस गर्न थालेको उनले बताए ।

मुलुकले अहिलेको अस्थिरताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने बेला आएको लिङ्देनले बताए । ‘वर्तमान सरकारसँग धेरै कुरामा विमति, असहमति भए पनि गत वर्ष विखण्डनको कुरा गर्ने सिके राउत र यो वर्ष विप्लव समूहको नेकपालाई सरकारले मुल प्रवाहमा ल्याएको छ,’ उनले भने, ‘साँच्चै नै राष्ट्रिय एकता गर्ने हो भने यतिले मात्र पुग्दैन, सिके राउत र नेत्रविक्रम चन्दलाई मात्र होइन, अनेक लाञ्छना र अभियोगका बाबजुद पनि शान्त र सौम्य रहेको नेपालको राजसंस्थालाई पनि स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गर्न म सबै राजनीतिक दलहरूलाई आग्रह गर्छु ।’