सामुदायिक विद्यालयहरूमा २३ करोड बढी बेरुजु

भद्रपुर २३ चैत । झापाका सामुदायिक विद्यालयहरूमा २३ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । संघीय सरकारले विद्यालयको भौतिक संरचना निर्माणतर्फ लगानी गरेको ठूलो रकम बेरुजु देखिएको शिक्षा विकास तथा समन्वय समिति झापाले जनाएको छ । विद्यालयहरूले आर्थिक वर्ष २०६९।७० देखि ०७४।०७५ सम्मको भौतिकतर्फ बेरुजु रकम अझै फछ्र्यौट गरेका छैनन् ।

सरकारले विद्यालयको भवन निर्माण, मर्मत, भूकम्प प्रभावित मर्मत, शौचालय, खानेपानी, अस्थायी सिकाई केन्द्र, कक्षा कोठा पुनस्र्थापना लगायतको कार्यक्रममा लगानी गरेका थिए । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिकै लापरबाहीले राज्यको करोडौँ रकम बेरुजु देखिएपछि शिक्षा विकास तथा समन्वय समिति झापाले सूचनामार्फत विद्यालयहरूको नामावली प्रकाशन गर्दै ताकेता गरेको छ । लामो समयसम्म विद्यालयहरूको बेरुजु रकम देखिएको र त्यस विषयमा समितिले पटक–पटक विद्यालयलाई ताकेता गर्दा समेत अटेरी गरेपछि विद्यालयहरूको नामावली नै प्रकाशन गरिएको शिक्षा विकास तथा समन्वय समिति झापाका इकाई प्रमुख राजकुमार विकले जानकारी दिए । ‘अहिले सबै विद्यालय स्थानीय तह अन्तरगत गइसकेको छ,’ इकाई प्रमुख विकले भने, त्यसैले पनि बेरुजु फछ्र्यौट गराउन समस्या भइरहेको छ, हामीले स्थानीय तहलाई बेरुजु फछ्र्योटका लागि पत्राचार गरिसकेका छौँ, ‘बेरुजु रकम देखिएका विद्यालयहरूलाई स्थानीय तहबाट दिने सेवा सुविधा लगायतका कार्यक्रममाथि रोक लगाउनु पर्छ, उनले भने, ‘स्थानीय तहहरूले कडाइ गरेपछि मात्र विद्यालयहरूले बेरुजु रकम फछ्र्यौट गर्न आउँछन् ।’