जनगणनाका कर्मचारीमा बढी महिलाका निवेदन
भद्रपुर १५ चैत । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा झापामा सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९ सय ३७ जना मध्ये पाँच हजार ८१ महिला छन् ।
कार्यालयका प्रमुख चुडामणि लुईंटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार ८१ गरी सात हजार ९३७ जनाको निवेदन आएको जानकारी दिए । उनले मागिएको कर्मचारी भन्दा सात गुणा बढीले जिल्लामा आवेदन फारम भरेको बताए ।
जिल्लामा सुपरीबेक्षकका लागि २५९ र गणकका लागि एक हजार ८१ जना कर्मचारी करारमा चाहिएको प्रमुख लुईटेलले बताए । “आवेदकहरुबाटै छानेर दक्ष व्यक्तिको चयन गरिन्छ”, प्रमुख लुईंटेल भन्छन्, “यहाँ सोर्स फोर्सको गुन्जायस हुँदैन ।”
योग्यता क्षमता भएका तर पारिवारिक कारणले बाहिर गएर जागिर खान समस्या भएका महिलाहरुले निवेदन दिएका कारण महिलाको संख्या बढी भएको हुन सक्ने जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शाहीले बताए । “छोटो अवधिको जागिर हो यो” उनले भने, “विहान बेलुका परिवारको हेरचाह गरेर पनि काम गर्न सकिने हुँदा महिलाको यसप्रति बढी आकर्षण हुनसक्छ ।”
छनोटमा परेका सुपरीबेक्षकले पहिलो चरणको कार्यक्रम अन्तरगत घर तथा परिवारको सूचीकरण यही बैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म प्रत्यकेका घरघर पुगेर गर्ने र त्यसकै आधारमा गणकले परिवारको संख्याको विवरण, कृषि तथा पशुपंक्षी सम्बन्धी विवरण, बैङ्किङ पहुँचको विवरण संकलन गर्नेछन् ।