सुरक्षित रही कसरी आर्थिक गतिविधि चलायमान बनाउने भन्नेतिर लाग्नुपर्छ

—उमेशप्रसाद सिंह (कार्यवाहक अध्यक्ष, लघु, घरेलु तथा साना उद्योग महासंघ)

आवश्यक परेपछि आविष्कार हुन्छ । हामी कोभिड–१९ को सम्भावित दोस्रो लहरबाट आत्तिएका छैनौं । तर सचेत र संयमित भने अवश्य छौं । यसका लागि पूर्वतयारीमा रहन हामी सरकारलाई अपिल पनि गर्न चाहन्छौं ।

पहिलेजस्तो अवस्था अहिले होइन । किनकि यस्तो विश्व महामारी आउला र सबै क्षेत्र अस्तव्यस्त होला भनेर पहिला कसैले पनि सोचेको थिएन । तर अहिले त हामीले पाठ सिकिसकेका छौं नि । समस्या भोगिसकेका छौं नि । अब पनि चुप लागेर बस्ने छुट हामीलाई छैन, सरकारलाई छैन । सम्भावित समस्याको पूर्वतयारीमा सरकार लाग्नुपर्छ ।

समस्या पर्दा हामी निजी क्षेत्र, साना, लघु तथा घरेलु उद्योगहरूले सरकारलाई सकेको सहयोग गरेकै हो । मुलुक आर्थिक संकटमा फस्दा व्यवसायीहरुले आफु समस्या परेरै भए पनि ट्याक्स, भ्याट, भन्सार तिरेकै हुन् । राज्यलाई सहयोग गरेकै हुन् । अब सरकारले त्यसैलाई मात्र हेरेर हुन्न । आफ्नो दायित्व पनि बोध गर्नुपर्छ । संकटमा कसरी व्यवसायी र नागरिकहरुलाई सुरक्षित राख्ने भन्ने पूर्वतयारी गर्नुपर्छ । अब लकडाउन गर्नेतर्फ भन्दा पनि सुरक्षित रही कसरी आर्थिक गतिविधि चलायमान गर्ने भन्नेतर्फ सरकार लाग्नुपर्छ । यता तर्फ लाग्न म सरकारलाई आग्रह गर्न चाहन्छु ।—साभार रातोपाटी