झापाका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्रीलाई मोति पत्रकारिता पुरस्कार
भद्रपुर, २९ फागुन । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोति पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री तथा केटो पत्रकारिता पुरस्कारबाट गीताकुमारी ढुंगाना पुरस्कृत भएका छन् ।
अघिल्लो पुस्ताका सकृय पत्रकार क्षेत्री नगद ५१ हजार तथा पछिल्लो पुस्ताकी पत्रकार ढुंगाना नगद १५ हजारसहित पुरस्कृत भएका हुन् ।
६ दशकदेखि झापामा सकृय पत्रकारिता गरिरहेका क्षेत्री काठमाण्डौबाट प्रकाशित अंग्रेजी दैनिक द हिमालयन टाइम्सका झापा समचारदाता तथा भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकका सम्पादक प्रकाशक हुन भने ढुंगाना एक दशकयता हिम शिखर टेलिभिजन दमकमा कार्यरत छिन् ।
पुरस्कृत व्यक्तित्वलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सभापति गोविन्द आचार्य, संस्थापक महासचिव चन्द्रभण्डारी तथा पूर्व अध्यक्ष शिव गाउँलेले सम्युक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
महासंघ झापाका सभापति तारामणि सापकोटाको अध्यक्षता तथा केन्द्रीय सभापति गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँले, संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघ प्रदेश १ का सभापति बिक्रम लुइटेल, पुरस्कृत व्यक्तित्व गोविन्दचन्द्र क्षेत्री लगायतले मन्तव्य राख्दै झापाली पत्रकारितामा शुद्धिकरण तथा पेशागत सुरक्षाको आवश्यकता औंल्याएका थिए । उपाध्यक्ष एकराज गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए ।
यसैगरी पत्रकार महासंघबाट नयाँ सदस्यता पाएका ३८ जना पत्रकारलाई पत्रकारिताको आचार संहिता सम्बन्धि प्रशिक्षण समेत दिइएको थियो ।