राप्रपाका नेता लिङ्गदेनले राज्यबाट आर्थिक सहयोग नलिएको खुलासा
भद्रपुर २८ फागुन । राप्रपाका नेता राजेन्द्र लिङ्गदेनले द्वन्द्व बेला माओवादीले घरमा आगजनी र विस्फोट गरेको क्षतिपूर्ति नलिएको स्पष्ट पारेका छन् । द्वन्द्वका बेला आगजनी र विस्फोट गरेको घरको क्षतिपूर्ति लिएको भन्दै केही व्यक्तिहरूले हल्ला फिँजाएको सम्बन्धमा महामन्त्री लिङ्गदेनले उक्त कुरा सामाजिक सञ्जालमा लेख्दै स्पष्ट पारेका हुन् । केही महिना अगाडी बिरामी भएको बेला समेत राज्यबाट कुनै आर्थिक सहयोग नलिएको उनको भनाई छ ।
लिङ्गदेनले भने, “केही साथीहरूलाई उहिले द्वन्द्वका बेला माओवादीले आगजनी र विस्फोट गरेको घरको क्षतिपूर्ति र अस्ति भर्खरै बिरामी हुँदा राज्यकोषबाट आर्थिक सहयोग लियो भन्ने भ्रम रहेछ, मैले उहिले र अहिले कहिल्यै पनि क्षतिपूर्ति र उपचार खर्च नमागेको र नलिएको हो ।”
प्रतिनिधि सभा सदस्य समेत रहेका लिङ्गदेन झापा गोलधापका स्थायी बासिन्दा हुन् । तत्कालीन माओवादी सशस्त्र द्वन्द्व समयमा उनको घरमा आगजनी र विस्फोट गराइएको थियो । आगजनीबाट क्षतिग्रस्त भएको गोलधापको घरलाई लिङ्गदेनले हालसालै मर्मत सम्भार गरी बसाई सरेका छन् । घर क्षतिग्रस्त भएपछि उनी लामो समय बिर्तामोड परिवारसहित बस्दै आएका थिए ।