माओवादी केन्द्रको झापामा कार्यालय स्थापना

भद्रपुर २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले झापामा छुट्टै कार्यालय स्थापना गरेको छ । बिर्तामोड नगरपालिका ३ स्थित गौरीशङ्कर स्मृति प्रतिष्ठानको भवनमा नेकपा माओवादी केन्द्रले जिल्ला कार्यालय स्थापना गरेको हो । कार्यकर्ताले कार्यालय स्थापना गरेसँगै नेकपा माओवादी केन्द्र झापा लेखिएको बोर्ड राखेका छन् । प्रदेश सांसदद्धय झलकसिंह दर्लामी र पूर्णसिंह राजवंशीले कार्यालय उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसदद्धयले जिल्लामा माओवादी केन्द्रलाई थप मजबुत बनाउँदै लैजानु पर्ने जिम्मेवारी कार्यकर्ताको काँधमा आएको बताएका थिए । कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका मणिकुमार साम्पाङ (विजय)ले गरेका थिए । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि नेकपाको जिल्ला कार्यालयमा एमाले बोर्ड राखिसकेको छ । सो कार्यालय तत्कालीन एमालेकै जिल्ला कार्यालय भएकोले नेकपाको नाम मेटाएर एमाले राखिएको हो ।