बाईस बर्षीया आशा लिम्बु बेपत्ता
भद्रपुर १७ फागुन । झापाको मेचीनगर ९ मागुरमाडीकी २२ बर्षीया आशा लिम्बु बेपत्ता भएको घट्ना रहस्यमय बन्दै गएको छ । २०७७ फागुन ४ गते सरस्वती पुजाकै दिनदेखि बेपत्ता भएकी आशाका बारेमा १४ दिन बितिसक्दा समेत पनि कुनै सुराक लाग्न सकेको छैन ।
कविशिरोमणी माविको कक्षा ११ मा अध्ययनरत आशा शारिरीक रुपमा फरक क्षमताकी थिइन । वनको केही बर्षदेखि डिसोसिएटिभ डिसअर्डर रोगको उपचार चलिरहेको आशाका दाजु मिलन लिम्बुले बताए । ‘उसलाई हिड्न पनि केही अप्ठ्यारो हुन्थ्यो, आशाका दाजु मिलनले भने,‘सानैदेखि बिरामी नै थिई, बेला बेला मुर्छा पर्ने पनि हुन्थ्यो, बोली पनि केही असजिलो छ ।’
‘सरस्वती पुजाको दिन बिहानै बिद्यालय पुगेर पुजा गरेर फर्किएकी थिइ ।’ आमा दुपर्दा लिम्बुले भनिन्,‘खाना खाएर बिहान ११ बजे तिर फेरी दिउँसोको कार्यक्रम हेर्न भनेर बिद्यालय नै गएकी थिइ तर बेलुकासम्म पनि घर नफर्केपछि हामीले खोजी गर्यौं, तर आजसम्म पनि केही खबर पाएका छैनौं ।’ भोलि पल्टै आशा हराएको भनेर इलाका प्रहरी कार्यालय धुलाबारीलाई समेत जानकारी गराएको आशाका बुवा जसमान लिम्बुले बताए । कतै नभेटिए पछि पुलिसलाई पनि भन्यौं, जसमानले भने,‘तर प्रहरीले पनि अहिलेसम्म केही पत्ता लगाको छैन ।’
घट्ना अनुसार फागुन ४ गते कविशिरोमणी माविमा सरस्वती पुजाको अवसर पारेर बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम गरिरहेका थिए । आशा पनि साथीहरुसंग बिद्यालयको कार्यक्रम हेरिरहेकि थिइन । अपरान्ह तिर आशालाई एउटा फोन आयो र आशा धुलाबारी मोडसम्म जानुछ भनेर हिड्न लाग्दा साथीहरुले अटोरिक्सासम्म आशालाई पुर्याइ दिए । शारिरीक रुपमा अशक्त भएकाले साथीहरुकै सहयोगमा आशा बिद्यालयबाट बाहिर निस्केर अटोमा चड्ेर भनिन्, ‘साथी भेट्न धुलाबारी मोड गएको ।’
आशा हराएको जानकारी आए देखि नै खोजी कार्यलाई तिब्र बनाएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । हामीले आशाको खोजी जारी राखेका छौं, धुलाबारीका प्रहरी निरीक्षक विकास राईले भने, ‘आशाले बोकेको मोबाइल नम्बरको अवस्था हेर्दा एक पटक सर्लाही जिल्लामा खुलेकोसम्म भेटिएको छ । विभिन्न ढंगबाट खोजी कार्यलाई निरन्तरता दिएका छौं ।’
आशाको खोजीका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गरिदिन पनि परिवारले आग्रह समेत गरेको छ ।