अविश्वास प्रस्ताव पास गरेर देखाउनु पर्यो : प्र.म.ओली
भद्रपुर १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अदालतबा मुद्धा जितेर प्रधानमन्त्री बन्नेवाला नभएको बताका छन् । मुद्धा हारेर आफुलाई केही फरक नपर्ने ओलीले बताए । आज झापाको कमलमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘पचास वर्षको राजनीतिमा मुद्धा कति हारियो कति,’ उनले भने–‘अविश्वास प्रस्ताव पास गरेर देखाउनु पर्यो नि, त्यसपछि दुई तिहाई जनमत ल्याएर प्रधानमन्त्री बन्नेछु ।’ ओलीले प्रचण्ड नेपाल समूहलाई अविश्वास प्रस्ताव ल्याएर आफुलाई प्रधानमन्त्री पदबाट हटाउन चुनौति दिए । ‘गल्ती नगर्ने तर मुद्धा हार्नै आएको व्यक्ति हुँ, मुद्धा जितेर प्रधानमन्त्री बन्नेवाला होइन,’ ओलीले भने । जनताको हात आफ्नो टाउकामाथि आशिर्वादको रुपमा रहेसम्म आफु नहार्ने उनले बताए ।
नेकपा प्रचण्ड नेपाल समूहका नेता पुष्पकमल दाहाल र माधव कुमार नेपाल संसद् पुनस्र्थापन लगत्तै लड्डु खाएर चितवनको सभा छाडेर बुढानिलकण्ठका देवताको पाउ पूजामा गएको ओलीले टिप्पणी गरे । ‘चितवनको सभा छाडेर, लड्डु खाएर, प्लेन चढेर सिधै सुतिरहेका बुढानिलकण्ठको पाउ पूजा गर्न गए भन्ठानेको थिएँ,’ ओलीले कांग्रेससँग सहयोग माग्न प्रचण्ड नेपाल समूह गएको प्रसंगमा कटाक्ष गर्दै भने–‘सुतिरहेका होइन, उठिरहेका बुढानिलकण्ठको पाउ पूजा गर्न पो जानु भएको रहेछ ।’ नेकपा प्रचण्ड नेपाल समूहका नेतालाई दुई मिस्टरको संज्ञा दिदै ओलीले माधव कुमार नेपालले हिन्दीमा खुशीलायी साटेको सन्दर्भलाई कतातिर फोन गरेको भन्दै प्रश्न गरे । ‘सुनियो त्यस्तो, कता फोन गरेको हो त्यो थाहा भएन,’ उनले भने–‘लड्डु खाए लगत्तै एउटा फोन आएछ, हेल्लो कैसे हो आप ? आपके सहयोगके लिए बहुत बुहत धन्यवाद ।’ आफुलाई हटाएर अर्को प्रधानमन्त्री बन्ने कुरा अर्को देशका लागि अनुकूल भएको समाचार विभिन्न मिडियामा आएको उनले बताए ।