सर्वोच्च अदालतको फैसला विवादित ः बस्नेत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फैसला विवादित रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघको भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै नेता बस्नतेले सर्वोच्चको फैसला जनताको भावनाअनुसारको नआएको जिकिर गरे। ‘सर्वोच्च अदालते अहिले हामीलाई हराएको जस्तो देखिएको छ । सर्वोच्चले मनमोहन अधिकारीलाई पनि हराएको थियो,’ उनले भने,‘तर, मनमहोन नेपालको राजनीतिबाट कहिल्यै हारेनन्। नेपाली जनताको मनबाट कहिल्यै हराएनन् ।’ सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रि पद्धतिलाई स्वीकार नगर्ने उनको भनाई छ । ‘आज केपी ओली कमरेडले हारेको जस्तो देखिएको छ । तर, अदालतको यो फैसला विवादित फैसला हो। सर्वोच्चको फैसला जनताको भावनाअनुसारको फैसला होइन,’ उनले भने,‘यसले लोकतान्त्रि पद्धतिलाई स्वीकार गर्दैन ।’

तर, अदालतले प्रधानमन्त्री ओलीलाई हराएपनि नेपाली जनताले जिताउने उनको दाबी छ । ‘अदालतले हराएपनि नेपाली जनताले केपी ओलीलाई जिताउने छन्,’ बस्नेतले भने ।