कलवलगुरीमा चिन्ताहरण आश्रम निर्माण थालियो

भद्रपुर, ४ फागुन । भद्रपुर १० स्थित कलवलगुरी टोलमा बृद्धबृद्धाको सेवा लक्षित गरेर आश्रम निर्माण थालनी गरिएको छ । स्थानीय नारद न्यौपाने लगायतको प्रयासमा समाजमा एक्लै भएका बृद्धबृद्धालाई आश्रय दिइ सेवा गर्ने लक्ष राखेर सो आश्रमको निर्माण थालिएको हो ।

हरिप्रसाद गौतमको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भूमिपूजन कार्यक्रममा पण्डित परमेश्वरदासले शिला राखेर भवन निर्माणको काम थालनी गरिएको थियो ।

भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, वडा सदस्य तुलसी पोखरेल, स्थानीय नारायण चौलागाई, पुरूषोत्तम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

३ कठ्ठा क्षेत्रफलमा निर्माण हुने चिन्ताहरण आश्रमसितै योग शिविर, आयुर्वेद उपचार कक्ष, गौशाला लगायत घरेलु उद्योगको अवधारणा समेत जोडिएको निर्माणमा जुटीरहेका देवेन्द्र गौतमको भनाइ छ ।