पर्यटन पुर्वाधार विकासका लागि साझेदारी योजना

भद्रपुर २ फागुन । झापाका १० स्थानीय तहमा पर्यटन पुर्वाधार विकासका लागि संघिय सरकारले स्थानीय पालिकाहरुसंग साझेदारी योजना अघि सारेको छ । कुल ४८ करोड ८३ लाखको योजना मध्ये स्थानीय तहले ३० प्रतिशत लगानी गर्नुपर्ने शर्त रहेको छ ।

पर्यटन उपज विकास साझेदारी कार्यक्रममार्फत सञ्चालन हुने परियोजनाहरुमा झापाका अर्जुनधाराको हलुवागढ पर्यापर्यटन प्रबद्र्धन परियोजनाका लागि ४ करोड ३५ लाख ५० हजार, बाह्रदशी गाउँपालिकाको साधुपर्ती झिल सिमसार क्षेत्रको पर्यटन प्रबद्र्धनमा ३ करोड ५० लाख, शिवसताक्षी नगरपालिकाको दोमुखा चिल्ड्रेन पार्क तथा स्वीमिङ पुल निर्माणमा एक करोड ३० लाख, कचनकवल गाउँपालिकाको कचनकवलस्तभ्भ र केचना झिल ब्यवस्थापनका लागि ३ करोड ५० लाख, गौरीगञ्ज गाउँपालिकाको कारोबारी सिमसार क्षेत्रका लागि ३ करोड ५० लाख, कमल गाउँपालिकाको साधुहोली पर्यटन क्षेत्रका लागि ३ करोड ५० लाख, कनकाइ नगरपालिकाको कनकाइ सामुदायिक वनस्पती उद्यायन तथा विज्ञान पार्क परियोजनाका लागि ४ करोड ४९ लाख, भद्रपुर नगरपालिकाको साइन्स सिटी निर्माणका लागि ४ करोड ३८ लाख, दमक नगरपालिकाको इन्द्रेणी ताल संरक्षणका लागि ९८ लाख र हल्दिबारी गाउँपालिकाको भेलागढी लोकतान्त्री शहिद स्मृति पार्क निर्माणका लागि ३ करोड ५० लाख रकम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिनियोजन गरेको छ ।

झापामा पर्यटन प्रबद्र्धनका लागि कुला ४८ करोड ८३ लाख रुपैया लगानी हुने मध्ये संघिय सरकारले झापाका १० पालिकालाई अलग अलग गरी ३४ करोड १८ लाख १० हजार रुयैया उपलब्ध गराउने छ भने झापाका पालिकाहरुले आ आफ्नो पर्यटन क्षेत्रमा परेको बजेटको ३० प्रतिशत हुन आउने जम्मा १४ करोड ६४ लाख ९० हजार रकम साझेदारी गर्नु पर्नेछ ।